रौतहटमा माओवादी केन्द्रको नयाँ पार्टी कार्यालय उद्घाटन, भव्य र्‍यालीसहित सम्पन्न

रानी साह, रौतहट ।

फाल्गुन ०१ गते, बिहीबार ।

रौतहटमा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा रौतहट जिल्ला इन्चार्ज अशोक जैसवालको नेतृत्वमा भव्य र्‍यालीसहित पार्टी कार्यालय उद्घाटन गरिएको छ। गौर बजारमा निकालिएको विशाल जनयुद्ध दिवस र्‍यालीको समापनपछि गौर जिल्ला अदालतको पूर्वपट्टि रहेको चारकोठे भवनमा नयाँ पार्टी कार्यालयको उद्घाटन गरिएको हो।

यसअघि रौतहटमा माओवादी केन्द्रको औपचारिक पार्टी कार्यालय नभएको भए पनि इन्चार्ज अशोक जैसवालको पहलमा पहिलोपटक कार्यालय स्थापना गरिएको छ। उक्त कार्यालय १० वर्षका लागि भाडामा लिएर सञ्चालनमा ल्याइएको हो। कार्यालय स्थापना भएपछि पार्टीका गतिविधिहरू थप व्यवस्थित हुने, कार्यकर्ताहरू भेला भएर छलफल गर्न सहज हुने, जनगुनासो सुन्न र समाधान गर्न सजिलो हुने माओवादी नेताहरूले बताएका छन्।

जनयुद्ध दिवसको अवसरमा आयोजित विशाल र्‍याली गौर बजारको परिक्रमा गर्दै कोणसभामा परिणत भएको थियो। उक्त कोणसभामा पार्टीका केन्द्रीय नेता, प्रदेशस्तरीय नेता, निर्वाचित जनप्रतिनिधि, नगर कमिटीका सदस्यहरू, जनवर्गीय संगठनका अध्यक्ष तथा इन्चार्जहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कोणसभालाई सम्बोधन गर्दै जिल्ला इन्चार्ज अशोक जैसवालले पार्टी कार्यालय स्थापना हुनु र र्‍यालीमा जनसहभागिता उत्साहजनक हुनु माओवादी पार्टी रौतहटमा कमजोर रहेको भन्नेहरूलाई कडा जबाफ भएको बताए। “आजको उपस्थितिले माओवादी केन्द्र रौतहटमा पुनः सबल रूपमा अघि बढिरहेको प्रमाणित गरेको छ,” जैसवालले भने।

पार्टी कार्यालय उद्घाटन समारोहमा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा मधेश प्रदेश सांसद माननीय समिर भट्टराई, नेपाली कांग्रेसका जिल्ला सचिव रामचन्द्र गिरी, प्रदेश कमिटी सदस्य बिन्देश्वर यादव, प्रदेश कमिटी सदस्यहरू, निर्वाचित जनप्रतिनिधिहरू, नगर कमिटी सदस्यहरू, मेयर प्रत्याशीहरू, जनवर्गीय संगठनका अध्यक्ष तथा इन्चार्जहरूको उल्लेखनीय उपस्थिति थियो।

समारोहलाई सम्बोधन गर्दै माननीय युबराज भट्टराई समिर, प्रदेश कमिटी सदस्य बिन्देश्वर यादव, प्रदेश कमिटी सदस्य देवेन्द्र पटेल, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) रौतहट जिल्ला इन्चार्ज देवकी नेपाल, नेपाली कांग्रेसका जिल्ला सचिव रामचन्द्र गिरीलगायतका नेताहरूले माओवादी केन्द्रलाई थप व्यवस्थित बनाउन पार्टी कार्यालय स्थापनाको महत्वपूर्ण भूमिका रहने बताए। उनीहरूले नयाँ कार्यालय स्थापनाको अवसरमा माओवादी केन्द्रका नेता तथा कार्यकर्तालाई बधाई तथा शुभकामना व्यक्त गरे।

माओवादी केन्द्रका स्थानीय नेताहरूका अनुसार पार्टी कार्यालय स्थापना भएपछि संगठन विस्तार, जनतासँगको अन्तरक्रिया, गुनासो संकलन तथा समस्या समाधान प्रक्रियामा सहजता आउनेछ। पार्टीका नियमित बैठक, प्रशिक्षण, रणनीति निर्माण र संगठनात्मक क्रियाकलापहरू व्यवस्थित रूपमा सञ्चालन गर्न कार्यालय महत्त्वपूर्ण आधारशिला बन्ने विश्वास गरिएको छ।

रौतहटमा पहिलो पटक माओवादी केन्द्रको औपचारिक पार्टी कार्यालय स्थापना भएसँगै स्थानीय कार्यकर्तामा नयाँ उत्साह देखिएको छ। इन्चार्ज अशोक जैसवालको नेतृत्वमा पार्टीलाई थप सुदृढ बनाउन विभिन्न रणनीति बनाइने र संगठनलाई बलियो बनाइने बताइएको छ।

ताजा समाचार

Related Articles