प्रेस सेन्टर नेपालको मधेस प्रदेश सम्मेलन बर्दिबासमा सम्पन्न, २२ सदस्यीय मधेस प्रदेश कमिटी गठन

रानी साह, रौतहट ।

फाल्गुन ११ गते , आईतवार ।

प्रेस सेन्टर नेपालको मधेस प्रदेश सम्मेलन बर्दिबासमा भव्य रूपमा सम्पन्न भएको छ। सम्मेलनले २२ सदस्यीय मधेस प्रदेश कमिटी गठन गर्दै आगामी दिनमा पत्रकारिता क्षेत्रको सशक्तिकरण र प्रेस स्वतन्त्रताको प्रवर्द्धनका लागि महत्त्वपूर्ण कार्ययोजना अघि बढाउने निर्णय गरेको छ।

नवगठित कमिटीमा अध्यक्ष पदका लागि निरज पृथाकोटे मगर चयन हुनुभएको छ। बरिष्ठ उपाध्यक्षमा गोपाल गुप्ता चयन हुनुभएको छ भने उपाध्यक्षमा रामएकबालले जिम्मेवारी सम्हाल्नुभएको छ। महासचिवमा दिवस यादव चयन हुनुभएको छ। त्यस्तै, सचिवहरूमा रमेश साह (बारा), ओम किशोर चौधरी (रौतहट), रन्जित पान्डे (पर्सा), दिनेश महतो (धनुषा), दिपेन्द्र यादव (महोत्तरी) र दिपक गुप्ता चयन हुनुभएको छ। कोषाध्यक्षको जिम्मेवारी निरञ्जन साहले पाउनुभएको छ।

कार्यक्रमको सञ्चालन प्रेस सेन्टर नेपालको मधेस प्रदेशका वरिष्ठ उपाध्यक्ष गोपाल गुप्ताले गर्नुभएको थियो। स्वागत मन्तव्य प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य सुनिता बरालले राख्नु भएको थियो । प्रमुख अतिथिका रूपमा नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा मधेस प्रदेश इन्चार्ज मातृका यादवको उपस्थिति सम्मेलनको प्रमुख आकर्षण रहेको थियो ।

उद्घाटन मन्तव्यमा प्रमुख अतिथि यादवले सञ्चार क्षेत्रको स्वच्छता, निष्पक्षता र उत्तरदायित्वका विषयमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “मधेस प्रदेशमा सञ्चारकर्मीहरूको भूमिकालाई अझ प्रभावकारी बनाउँदै जनताको आवाजलाई सशक्त रूपमा उजागर गर्न प्रेस सेन्टर नेपालले नेतृत्वदायी भूमिका खेल्नुपर्ने समय आएको छ।”

कार्यक्रममा नेकपा माओवादी केन्द्रका मधेस प्रदेश संसदीय दलका नेता भरत साह, प्रेस सेन्टर नेपालका वरिष्ठ उपाध्यक्ष कमल गिरी, प्रेस सेन्टर नेपालका उपाध्यक्ष तथा मधेस प्रदेश इन्चार्ज गोविन्द देवकोटा, नेपाल पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष श्याम बन्जरा र नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा संयोजक केशव लामिछानेजस्ता विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

विशिष्ट अतिथि भरत साहले आफ्नो मन्तव्यमा भन्नुभयो, “सञ्चारकर्मीहरूले मुलुकको राजनीतिक, सामाजिक र आर्थिक रुपान्तरणमा महत्वपूर्ण योगदान पुर्‍याइरहेका छन्। त्यही योगदानलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन प्रेस सेन्टर नेपालको भूमिकालाई सबैले सहकार्यका साथ अघि बढाउनु आवश्यक छ।”

त्यस्तै, प्रेस सेन्टर नेपालका वरिष्ठ उपाध्यक्ष कमल गिरीले सञ्चारकर्मीहरूको अधिकार र सुरक्षाको सुनिश्चितताका लागि संगठनले मधेस प्रदेशमा विभिन्न अभियानहरू सञ्चालन गर्ने बताउनुभयो। उहाँले प्रेस स्वतन्त्रताको रक्षा र पत्रकारहरूको हकहितमा प्रेस सेन्टर सधैं प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो।

सम्मेलनमा प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्यहरू, पदाधिकारीहरू, मधेस प्रदेशका पदाधिकारीहरू र सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। साथै, माओवादी केन्द्रका केन्द्रीय सदस्यहरू, मधेस प्रदेशका जिल्ला इन्चार्जहरू, प्रेस सेन्टरका जिल्ला अध्यक्षहरू र विभिन्न सञ्चारमाध्यमका सञ्चारकर्मीहरूको समेत उपस्थितिले सम्मेलनलाई विशेष बनाएको थियो। सम्मेलनले मधेस प्रदेशका सञ्चारकर्मीहरूका समस्याहरूको समाधान, पत्रकारिताको व्यावसायिक विकास, प्रेस स्वतन्त्रताको संरक्षण र सञ्चारकर्मीहरूको हकहितका लागि दीर्घकालीन कार्ययोजना अघि सार्ने प्रतिबद्धता जनाएको छ ।

ताजा समाचार

Related Articles