साक्षरता अभियानसँगै मौलापुरमा मधानी महोत्सवको भव्य उद्घाटन सम्पन्न

रानी साह, रौतहट ।

फाल्गुन ११ गते, आईतवार ।

रौतहट मौलापुर नगरपालिकाको आयोजनामा ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको मधानी महोत्सवको भव्य रूपमा उद्घाटन गरिएको छ। प्राचीन यज्ञ मधानी महायज्ञलाई विश्व स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यका साथै पतौरा पुरातात्त्विक मन्दिरलाई अन्तर्राष्ट्रिय आकर्षक पर्यटकीय स्थलको रूपमा विकास गर्ने संकल्पका साथ महोत्सव सुरु भएको हो।

मधानी महोत्सवलाई शिव–पार्वतीको विवाहोत्सवको रूपमा विशेष महत्त्वका साथ मनाइन्छ। यस अवसरमा मौलापुर नगरपालिकाकी मेयर रिना कुमारी साहको सभाध्यक्षतामा आयोजित कार्यक्रममा आम जनता पार्टीका केन्द्रीय अध्यक्ष तथा संघीय सांसद माननीय प्रभु साह प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

मधेस प्रदेशकी शिक्षा मन्त्री रानी कुमारी तिवारी कार्यक्रमकी विशिष्ट अतिथि रहनु भएको थियो भने आम जनता पार्टीका स्थायी समिति सदस्य अमर साह, नेता मनोज साह, मौलापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु प्रसाद साह, नगरभित्रका विभिन्न विद्यालयका प्राध्यापक, शिक्षक-शिक्षिका, नगरपालिका कर्मचारी र ठूलो संख्यामा भक्तजनहरूको उपस्थितिले महोत्सवलाई भव्य बनाएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै संघीय सांसद प्रभु साहले मौलापुर नगरपालिकाले नगर प्रहरीको सट्टा नगर शिक्षक भर्ना गरेर शिक्षा क्षेत्रमा दिएको प्राथमिकताको खुलेर प्रशंसा गर्नुभयो। उहाँले भन्नुभयो, “शिक्षाको अभावमा कुनै पनि प्रदेशले दीर्घकालीन प्रगति हासिल गर्न सक्दैन। मधेस प्रदेशले शिक्षा क्षेत्रमा जम्मा ५% बजेट छुट्याएर सोचेअनुसारको प्रगति गर्न सक्दैन।”

सांसद साहले शिक्षा क्षेत्रमा थप लगानीको आवश्यकता औंल्याउँदै केन्द्र सरकारबाट पर्याप्त बजेट सुनिश्चित गर्न आफू प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो। उहाँले मौलापुर नगरपालिकाले शिक्षा क्षेत्रमा देखाएको प्रतिबद्धता अनुकरणीय रहेको बताउँदै संघीय तहबाट आवश्यक सहयोग र सहकार्यका लागि आफू सधैँ तयार रहेको प्रतिवद्धता जनाउनुभयो।

मधेस प्रदेशकी शिक्षा मन्त्री रानी कुमारी तिवारीले पनि मौलापुर नगरपालिकाको शैक्षिक पहलको प्रशंसा गर्दै प्रदेश सरकार शिक्षा क्षेत्रको विकासका लागि केन्द्र सरकारसँग समन्वय गरी थप स्रोत जुटाउन तयार रहेको बताउनुभयो। “शिक्षा क्षेत्रमा दीर्घकालीन योजना र सहकार्य बिना मधेस प्रदेशको समृद्धि सम्भव छैन,” मन्त्री तिवारीले भन्नुभयो।

मधानी महोत्सव केवल धार्मिक तथा सांस्कृतिक कार्यक्रम मात्र नभई मौलापुर नगरपालिकाको सामाजिक, सांस्कृतिक र आर्थिक विकासका लागि पनि महत्वपूर्ण मानिएको छ। पतौरा पुरातात्त्विक मन्दिरको ऐतिहासिक र धार्मिक महत्त्वलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने र यस क्षेत्रलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने योजनालाई महोत्सवले थप सुदृढ पार्ने विश्वास गरिएको छ।

भक्तजनहरूले महायज्ञका क्रममा धार्मिक अनुष्ठानहरूमा सहभागिता जनाउनुका साथै शिव–पार्वतीको पवित्र विवाहोत्सवको स्मरण गर्दै सांस्कृतिक झाँकीहरू, भजन–कीर्तन र अन्य विविध सांस्कृतिक गतिविधिमा समेत सक्रिय सहभागिता जनाएका थिए।

महोत्सवका सम्पूर्ण कार्यक्रमहरूको आकर्षक सञ्चालन श्री मावि मर्यादपुरका प्राध्यापक दिनदयाल साहले गर्नुभयो। उहाँको कुशल सञ्चालनले कार्यक्रममा थप उत्साह र ऊर्जा प्रदान गरेको सहभागीहरूले बताएका छन्।

ताजा समाचार

Related Articles