मधानी महोत्सव – २०८१ विशेष सांस्कृतिक समारोह भव्य रूपमा सम्पन्न, ऐतिहासिक पतौराधामलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने प्रतिबद्धता

रानी साह, रौतहट ।

फाल्गुन १४ गते,बुधवार ।

रौतहट – मौलापुर नगरपालिकाद्वारा आयोजना गरिएको मधानी महोत्सव – २०८१ विशेष सांस्कृतिक समारोह उत्साहपूर्ण रूपमा भव्य जनसहभागितासहित सम्पन्न भएको छ। पुरातात्विक, धार्मिक र सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण मानिने पतौराधामको पुरातात्विक महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने र मधानी महायज्ञलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्ने लक्ष्यका साथ सम्पन्न भएको यस समारोहले मौलापुर क्षेत्रमा सांस्कृतिक चेतना र पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा थपेको छ।

समारोहमा हजारौंको संख्यामा दर्शनार्थी र कलाप्रेमीहरूको सहभागिता देखिएको थियो। स्थानीयवासीदेखि देशका विभिन्न भागहरू र भारतका विभिन्न स्थानबाट आएका आगन्तुकहरूले महोत्सवलाई भव्य र ऐतिहासिक बनाएका थिए।

मधानी महोत्सव – २०८१ विशेष सांस्कृतिक समारोहका प्रमुख अतिथि आम जनता पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्व मन्त्री प्रभु साह थिए। उनले आफ्नो मन्तव्यमा मधानी महोत्सवले मौलापुरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने अभियानमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए। साथै, पतौराधाम महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन सबै पक्ष एकजुट हुनुपर्ने कुरामा जोड दिए।

त्यसैगरी, मौलापुर नगरपालिकाकी नगर प्रमुख रिना साहले पतौराधामको ऐतिहासिक र सांस्कृतिक महत्त्वलाई उजागर गर्दै यसको संरक्षण र प्रवर्द्धनका लागि नगरपालिका पूर्ण रूपले प्रतिबद्ध रहेको बताइन्। समारोहका संचालक प्रमुख प्रशासकीय अधिकृत रामबाबु साह थिए, जसले कार्यक्रम व्यवस्थापनमा उत्कृष्ट भूमिका निर्वाह गरेका थिए ।

समारोहमा नेपाल र भारतका प्रख्यात कलाकारहरूका सांगीतिक र सांस्कृतिक प्रस्तुतिहरूले दर्शकहरूलाई मन्त्रमुग्ध बनाएको थियो ।

भारतका सुपरस्टार गायक रितेश पाण्डेको लोकप्रिय भोजपुरी गीतहरूमा हजारौंको भिड रमाइलो गरिरहेको देखिएको थियो।

वरिष्ठ संगीतकर्मी एवं पूर्व मन्त्री विनय बिहारीको उपस्थिति र मन्तव्यले सांगीतिक क्षेत्रमा नेपाल-भारत सांस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाउने संकेत दिएको थियो।

महाकुम्भ मेलाबाट भाइरल बनेकी मोनालिसाले आफ्नो नृत्य र प्रस्तुतिबाट दर्शकहरूलाई झुमाइन्।

निर्देशक सनोज मिश्रा, सिखर संतोष र प्रिया सोहानीको सहभागिताले महोत्सवलाई झनै बहुआयामिक बनायो।

नेपालका चर्चित कलाकार प्रीति पासवान, रचना सिवकोटी, सुनील पण्डित र विशाल यादवले नेपाली सांस्कृतिक झल्को दिने उत्कृष्ट प्रस्तुति दिए।

कमेडियन दिपेश शर्मा र दीपलाल यादवको हास्य प्रस्तुतिले उपस्थित दर्शकहरूलाई हाँसोको फोहरा प्रदान गर्यो।

नन्दू श्रीवास्तव लगायत अन्य कलाकारहरूको प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो ।

यस महोत्सवको मुख्य उद्देश्य पतौराधामको ऐतिहासिक महादेव मन्दिरलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने तथा धार्मिक पर्यटन प्रवर्द्धन गर्ने रहेको छ। ऐतिहासिक रूपमा समृद्ध पतौराधाम मन्दिरलाई युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गराउने अभियानका लागि मौलापुर नगरपालिका, स्थानीय समुदाय र संघसंस्थाहरूले हातेमालो गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

मौलापुर नगरपालिकाकी नगर प्रमुख रिना साहका अनुसार, “पतौराधाम मन्दिर केवल धार्मिक आस्थाको केन्द्र मात्र नभई, यसले समग्र मौलापुर नगरपालिकाको सांस्कृतिक र ऐतिहासिक परिचयलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने सम्भावना बोकेको छ।”

मधानी महोत्सव – २०८१ विशेष सांस्कृतिक समारोहमा नेपाल र भारतका कलाकारहरूको संयुक्त सहभागिताले नेपाल-भारतबीचको सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाएको छ। यसले दुवै मुलुकका सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सहयोग पुर्‍याउने विश्वास गरिएको छ।

समारोहमा विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय मिडियाका पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहनुले कार्यक्रमको प्रचारप्रसारलाई अझ व्यापक बनाएको थियो। सञ्चारकर्मीहरूले महोत्सवको प्रत्यक्ष प्रसारण र रिपोर्टिङ गर्दै मौलापुरको सांस्कृतिक र ऐतिहासिक महत्त्वलाई उजागर गरेका थिए।

ताजा समाचार

Related Articles