मौलापुर मधानी महोत्सव २०८१ को समीक्षा तथा खर्च सार्वजनिकीकरण कार्यक्रम सम्पन्न

रानी साह, रौतहट ।

फाल्गुन २२ गते, बिहीबार ।

रौतहट — मौलापुर नगरपालिकाको आयोजनामा भव्य रूपमा सम्पन्न मौलापुर मधानी महोत्सव २०८१ को समीक्षा तथा खर्च सार्वजनिकीकरण कार्यक्रम सम्पन्न भएको छ। नगरप्रमुख रिनाकुमारी साहको अध्यक्षता तथा पूर्वमन्त्री माननीय प्रभु साहको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा महोत्सवको समग्र समीक्षा, खर्च विवरण सार्वजनिक गरिनुका साथै भविष्यका योजनाहरूबारे समेत छलफल गरिएको थियो।

कार्यक्रममा महोत्सवका विभिन्न उपसमितिहरूका संयोजकहरूले आ–आफ्ना अनुभव, योजना, चुनौतिहरू तथा महोत्सवका उपलब्धिहरूको समीक्षा गर्नुभएको थियो। त्यस्तै, पछिल्लो समय सामाजिक सञ्जालमा महोत्सवसम्बन्धी फिजाइएका भ्रमहरू तथा वास्तविकताबारे पूर्वमन्त्री साहले तथ्याङ्कसहित स्पष्ट पार्दै महोत्सवको महत्व र उपलब्धिहरूलाई उजागर गर्नुभयो।

नगरपालिकाका उपप्रमुख, वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, विभिन्न समितिका संयोजक तथा सदस्यहरू, व्यापारी वर्ग, धर्मावलम्बी तथा स्थानीय नागरिकहरूको उल्लेख्य उपस्थिति रहेको कार्यक्रमले महोत्सवको सफलताका साथै यसको दीर्घकालीन प्रभावबारे सकारात्मक सन्देश दिएको छ।

मौलापुर मधानी महोत्सव २०८१ को प्रमुख उपलब्धिहरू :

👉मौलापुर नगरपालिकाको प्रतिष्ठा र पहिचानमा वृद्धि

महोत्सवको सफल आयोजनासँगै मौलापुर नगरपालिका तथा पतौरा धामको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्व थप उचाइमा पुगेको छ।

पतौरा धामको ऐतिहासिक तथा धार्मिक महत्त्व अझ व्यापक रूपमा प्रचारप्रसार हुन पुगेको छ।

👉 धार्मिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान

मधानी यज्ञको महिमालाई विश्वस्तरमा पुर्‍याउने अभियानका रूपमा महोत्सव सफल भएको छ।

पतौरा धामलाई एक अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने सम्भावना थप बलियो बनेको छ।

👉अर्थतन्त्रमा प्रभावशाली योगदान

महोत्सव अवधिभर ५ लाखभन्दा बढी श्रद्धालु भक्तजनहरूको सहभागिता रह्यो।

करिब १० करोडभन्दा बढीको आर्थिक कारोबार भएको अनुमान गरिएको छ।

स्थानीय व्यापारीहरूले मात्र २ करोडभन्दा बढीको मुनाफा आर्जन गरेका छन्, जसले स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने देखिन्छ।

👉आय–व्यय विवरण पारदर्शी रूपमा सार्वजनिक

महोत्सवको सफल व्यवस्थापनका लागि मौलापुर नगरपालिकाले ६६ लाख २३ हजार ३ सय रुपैयाँ खर्च गरेको छ।

उपलब्ध स्रोतसाधन, जनशक्ति तथा स्वयम्सेवी सहयोगको प्रभावकारी परिचालनका कारण महोत्सवलाई कुशल व्यवस्थापन गर्न सकिएको नगरप्रमुख रिनाकुमारी साहले बताउनुभयो।

👉 संकट र चुनौतीबीच पनि महोत्सव सफलतापूर्वक सम्पन्न

आयोजक तथा स्थानीय नागरिकहरूको निरन्तर मेहनत, समर्पण र सहकार्यकै कारण विभिन्न बाधा, अवरोध र षड्यन्त्रहरूका बावजुद महोत्सव पूर्णतः शान्तिपूर्ण रूपमा सम्पन्न हुन सक्यो।

नगरवासी तथा पतौरावासीहरूले महोत्सवको सफल आयोजनामा जुन प्रकारको समर्थन र सहयोग देखाउनुभयो, त्यसका लागि मौलापुर नगरपालिकाले विशेष धन्यवाद ज्ञापन गरेको छ।

मौलापुर मधानी महोत्सव २०८१ले स्थानीय पर्यटन, धार्मिक पहिचान, सामाजिक एकता तथा आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याएको छ। यस महोत्सवले मौलापुरलाई धार्मिक पर्यटनको केन्द्रको रूपमा स्थापित गर्ने सम्भावना अझ बलियो बनाएको छ। साथै, पारदर्शिता कायम गर्दै खर्च सार्वजनिक गर्नु नगरपालिकाको जिम्मेवार प्रशासनिक शैलीको परिचायक हो। महोत्सवको सफलता सबै नगरवासी, आयोजक समिति, स्थानीय व्यापारी, धर्मावलम्बी तथा सुरक्षाकर्मीको समन्वयको कारण सम्भव भएको हो, जसका लागि नगरपालिकाले सबैलाई हार्दिक धन्यवाद प्रकट गरेको छ।

ताजा समाचार

Related Articles