वृन्दावन नगरमा नेकपा (एकीकृत समाजवादी) को दोश्रो नगर अधिवेशन भव्य रूपमा सम्पन्न

प्रदीप कुमार दास, रौतहट ।

फाल्गुन २१ गते ,बुधवार ।

रौतहट — वृन्दावन नगरपालिकामा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को दोश्रो नगर अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले सर्वसम्मत रूपमा पुनः सुरेन्द्र पटेललाई नगर कमिटी अध्यक्षमा चयन गर्दै ४० सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ।

नेकपा (एकीकृत समाजवादी) वृन्दावन नगर कमिटीको दोश्रो नगर अधिवेशन नगर कमिटीका अध्यक्ष सुरेन्द्र पटेलको सभाध्यक्षतामा सम्पन्न भएको हो। पार्टीका विभिन्न तहका नेताहरूको उपस्थितिमा सम्पन्न बन्द सत्रबाट सर्वसम्मत रूपमा पुनः पटेललाई नगर कमिटी अध्यक्षको जिम्मेवारी सुम्पिएको छ। त्यस्तै, उपाध्यक्षमा शेख अब्दुल करिम, सचिवमा प्रेम पटेल, उपसचिव (१) मा राजेश पासवान (निर्मानी), (२) मा रामपुकार यादव चयन भएका छन्। यसैगरी, महेन्द्र दास तत्मासहित ४० सदस्यीय नगर कार्यसमिति निर्माण गरिएको छ।

नगर अधिवेशनलाई विशेष बनाउन पार्टीका उच्च तहका नेताहरूको उपस्थिति रहेको थियो। प्रमुख अतिथिको रूपमा नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय उपमहासचिव तथा संविधानसभा सदस्य रामकुमार भट्टराई रहेका थिए। विशिष्ट अतिथिको रूपमा स्थायी कमिटी सदस्य कल्याणी खड्का तथा अतिथिको रूपमा पोलिटब्युरो सदस्य तथा रौतहट जिल्ला इन्चार्ज सरला यादव, सह-इन्चार्ज महेन्द्र चौलागाईं, केन्द्रीय सदस्य रजुद्दिन आलम, केन्द्रीय सल्लाहकार परिषद् सदस्य तथा वृन्दावन नगरपालिकाका नगर प्रमुख विनोद प्रसाद कुर्मी, केन्द्रीय सदस्य विनिता बख्रेल, निर्वाचन आयोग केन्द्रीय सदस्य भूपेन्द्र खड्का, रौतहट जिल्ला कमिटी अध्यक्ष कमल राय यादव, मधेश प्रदेश कमिटी सदस्य हसिना खातुन, शेख सतार अहमद, मुस्लिम इत्तेहाद मधेश प्रदेश अध्यक्ष सलामोदीन दर्जी, परवेज आलम, रविन्द्र साहलगायत नेताहरू अधिवेशनमा सहभागी थिए।

नगर अधिवेशनमा पार्टीका विभिन्न जनप्रतिनिधिहरू, कार्यकर्ता, वडा सदस्यहरू तथा वृन्दावन नगरपालिकाका स्थानीय तहका अगुवाहरूको उल्लेखनीय उपस्थिति रह्यो। साथै, विभिन्न सञ्चारमाध्यमका पत्रकारहरूको उपस्थिति रहेको थियो, जसले कार्यक्रमको समाचार संकलन तथा प्रत्यक्ष प्रसारण गरेका थिए।

नगर अधिवेशनले नेकपा (एकीकृत समाजवादी) लाई वृन्दावन नगरपालिकामा अझ बलियो बनाउने विश्वास गरिएको छ। नयाँ नेतृत्व चयन भएसँगै पार्टीलाई स्थानीय तहमा अझ सक्रिय बनाउँदै आगामी निर्वाचनमा प्रभावशाली उपस्थितिको तयारी गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।

कार्यक्रमको समापनसँगै सहभागी नेताहरूले नयाँ कार्यसमितिलाई बधाई ज्ञापन गर्दै आगामी दिनमा स्थानीय तहका जनताको समस्यालाई प्राथमिकता दिने र पार्टीको संगठन विस्तारमा सक्रिय भूमिका खेल्ने प्रतिवद्धता जनाएका थिए।

ताजा समाचार

Related Articles