प्रदीप दास, रौतहट ।
फाल्गुन २६ गते, सोमबार ।
बारा निर्वाचन क्षेत्र नं. ४ मा नेपाल पासवान कल्याण समाजको क्षेत्रीय भेला तथा होली मिलन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। बारा जिल्लाको गढीमाई छातापिपरा जीतपुर धर्मशालामा आयोजित यस कार्यक्रमको अध्यक्षता समाजका क्षेत्रीय अध्यक्ष इन्दल पासवानले गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि बारा जिल्लाका पासवान कल्याण समाजका संयोजक राजदेव पासवान रहेका थिए भने विशिष्ट अतिथिका रूपमा बारा जिल्ला संघर्ष समितिका संयोजक तथा बारा क्षेत्र नम्बर ३ का अग्रज नेता शिवदयाल पासवान, बारा क्षेत्र नम्बर २ का चर्चित दलित नेता रामशरण पासवान, क्षेत्र नम्बर १ का श्रीराम पासवान रहनुभएको थियो भने कार्यक्रम सञ्चालन सिकिन्द्र पासवानले गरेका थिए, साथै विभिन्न राजनीतिक दलका जनप्रतिनिधिहरू, दलित अगुवा नेता, युवा समाजसेवीहरू, महिला नेत्री सुगन्धी पासवान, पूर्व वडा सदस्य ज्ञानी देवी पासवान तथा विभिन्न समुदायका दिदीबहिनीहरू लगायतका विशिष्ट व्यक्तित्वहरूको पनि कार्यक्रममा विशेष उपस्थिति रहेको थियो।
भेलाका क्रममा नेपाल पासवान कल्याण समाज क्षेत्र नं. ४ को २१ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ, जसको अध्यक्षता इन्दल पासवानले गर्ने भएका छन्। यस समितिले समुदायका हकहितका विषयमा क्रियाशील भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पासवान कल्याण समाज बारा क्षेत्र नं. ४ का उपाध्यक्ष श्याम कुमार पासवानले दलित समुदायको सशक्तीकरण, समान अवसरको सुनिश्चितता र सामाजिक न्यायका मुद्दामा समाजको सक्रिय भूमिका रहने बताउनुभयो। उहाँले दलित समुदायका अधिकारहरू सुनिश्चित गर्नका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रमको अर्को आकर्षण होली मिलन कार्यक्रम रह्यो भने उपस्थित सबैले आपसी मेलमिलाप र सद्भावका साथ होली पर्वको शुभकामना आदान-प्रदान गरेका थिए । कार्यक्रममा परम्परागत गीत-संगीत, रङहरूको उत्सव तथा सामाजिक एकताको भावना झल्कने विभिन्न सांस्कृतिक प्रस्तुतिहरू समेत प्रस्तुत गरेका थिए ।
नेपाल पासवान कल्याण समाजले आयोजना गरेको यो भेला तथा होली मिलन कार्यक्रमले दलित समुदायबीच एकता, आपसी समन्वय र सामाजिक न्यायका लागि सहकार्यलाई अझ मजबुत बनाउने विश्वास गरिएको छ। स्थानीय समुदायको उत्साहजनक सहभागिता र अग्रज नेताहरूको प्रेरणादायी सम्बोधनले कार्यक्रममा विशेष उत्साह थपेको थियो।