रौतहटको वृन्दावन नगरपालिकामा होली मिलन समारोह भव्य रूपमा सम्पन्न

प्रदीप दास, रौतहट ।

फाल्गुन २९ गते, बिहीबार ।

रौतहट — फागु पूर्णिमा ( होली ) को अवसरमा वृन्दावन नगरपालिकाले आयोजना गरेको होली मिलन समारोह बिहीबार भव्यताका साथ सम्पन्न भएको छ । नगर प्रमुख विनोद प्रसाद कुर्मीको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रम वडा नम्बर ६ मा रहेको अस्थायी मुकामको सभा हलमा सम्पन्न भएको छ ।

होली मिलन समारोहमा नगरका विभिन्न वडाका वडाध्यक्षहरू, वडा सदस्यहरू, स्थानीय राजनीतिक दलका नेता-कार्यकर्ताहरू, समाजसेवी, बुद्धिजीवी, भद्रभलादमी तथा पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उपस्थित अतिथिहरूले कार्यक्रमको महत्वबारे प्रकाश पार्दै फागु पर्व आपसी भाइचारा, सद्भाव र एकताका प्रतीक भएकाले यसको सही परम्परा जगेर्ना गर्नुपर्ने विचार व्यक्त गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख विनोद प्रसाद कुर्मीले होली पर्वले समाजमा सकारात्मक ऊर्जा थप्ने बताउँदै सबैलाई शुभकामना व्यक्त गरेका हुन् । उनले नगरपालिकाले आपसी मेलमिलाप, समृद्धि र शान्तिको सन्देश बोकेको यस्तो कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

अन्य अतिथिहरूले पनि आ-आफ्नो मन्तव्य राख्दै होलीको सांस्कृतिक, धार्मिक तथा सामाजिक महत्वबारे प्रकाश पारेका थिए । उनीहरूले विविधता र सद्भाव कायम राख्दै समाजलाई समृद्ध बनाउने सन्देश होली पर्वले दिने भएकाले यसलाई हर्षोल्लासपूर्वक मनाउन आग्रह गरेका हुन् ।

कार्यक्रममा विशेष आकर्षणको रूपमा स्थानीय कलाकारहरूद्वारा होली सम्बन्धी सांगीतिक तथा सांस्कृतिक प्रस्तुति समेत देखाइएको थियो । उपस्थित सहभागीहरूले आपसी मित्रता दर्शाउँदै रंग तथा अबीर लगाएर पर्वको उल्लास साझा गरेका थिए।

समारोहको औपचारिक समापन अघि वृन्दावन नगरपालिका वडा नम्बर ४ का वडा प्रत्यासी एवं युवा समाजसेवी राम कल्याण यादवले कार्यक्रमको सञ्चालन गरेका थिए। उनले फागु पर्वले समुदायलाई एकताबद्ध बनाउने बताएर कार्यक्रमलाई अनुशासित र मर्यादित रूपमा समापन गर्न महत्वपूर्ण भूमिका खेलेका थिए ।

ताजा समाचार

Related Articles