११ चैत, काठमाडौँ । नेकपा माओवादी केन्द्रको तराई-मधेस जागरण अभियान पुनः स्थगित भएको छ। यही चैत १५ गते गणतन्त्रको पक्षमा काठमाडौँमा गर्न लागेको वृहत् जनप्रदर्शनको तयारीका कारण मधेसको हुलाकी राजमार्ग केन्द्रित जागरण अभियान स्थगन भएको हो।
पार्टीको आन्तरिक कारण देखाउदै पहिलो पटक रौतहट पुगेर अभियान स्थगित गरियेको थियो। स्थगित गरिएको अभियान पुनः बाराबाट सुरु गरे पनि चितवन पुगेर दोस्रो पटक स्थगित भएको हो। माओवादी श्रोतका अनुसार तेस्रो पटकको अभियान चैत १६ गतेबाट सुरु हुने छ।
अभियान स्थगित भए पनि माओवादी अध्यक्ष दाहाल चितवनमै रहेका हुनुहुन्छ । आज साँझ काठमाडौँ आइपुग्ने बताइएको छ।
आज साँझ प्रधानमन्त्री केपी शर्मा ओली, सत्तारुढ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका दाहालबिच सिंहदरबारमा बैठक बस्ने तय भएको छ। उक्त बैठकमा सहभागी हुन अध्यक्ष दाहाल काठमाडौँ आउन लाग्नु भएको हो ।