प्रदीप कुमार दास, रौतहट ।
चैत्र १२ गते, सोमबार ।
रौतहटको गरुडा नगरपालिका वडा नं. ६ स्थित श्री प्राथमिक विद्यालय पोठियाही-५ को नव निर्मित भवनको उद्घाटन एक भव्य समारोहका बीच सम्पन्न भएको छ। राष्ट्रपति शैक्षिक सुधार आयोजना अन्तर्गत २२ लाख रुपैयाँ तथा नगरपालिकाको तर्फबाट थप १० लाख रुपैयाँ गरी कुल ३२ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको उक्त दुई कोठे पक्की भवनको उद्घाटन नगर प्रमुख कन्थमनी प्रसाद जैसवाल ले गरेका हुन्।
विद्यालयको भौतिक पूर्वाधार मात्र नभई शैक्षिक वातावरणलाई समेत सशक्त बनाउन नगरपालिकाले ५० इन्चको LCD टिभी, इनभर्टर, पुस्तकालयका लागि दराज, टेबल, ह्वाइट बोर्ड, सूचना बोर्ड, १०० थान स्कूली झोला, बेन्च तथा अन्य आवश्यक शैक्षिक सामग्रीहरू विद्यालयलाई हस्तान्तरण गरेको छ। यसले विद्यार्थीहरूको पठनपाठनलाई अझ व्यवस्थित तथा गुणस्तरीय बनाउन मद्दत पुग्ने देखिएको छ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष नागेन्द्र पान्डेको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा नगर प्रमुख कन्थमनी प्रसाद जैसवाल प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा गरुडा नगरपालिकाका उप-प्रमुख, वडा अध्यक्ष रामबाबु चौधरी, सम्पूर्ण वडा सदस्यहरू, विद्यालयका शिक्षक-शिक्षिका, विद्यार्थी, बुद्धिजीवी, किसान, अभिभावक तथा विभिन्न सञ्चारमाध्यमका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख जैसवालले शिक्षा क्षेत्रमा लगानी नगरको प्रमुख प्राथमिकता रहेको बताए। उनले भने, “गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि भौतिक संरचना, प्रविधि र शैक्षिक सामग्री अपरिहार्य हुन्छ। गरुडा नगरपालिकाले आफ्ना सबै वडाहरूमा विद्यालयको स्तरोन्नतिमा निरन्तर काम गरिरहेको छ।”
उनीसँगै वडा अध्यक्ष रामबाबु चौधरीले पनि विद्यालयलाई आवश्यक थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
नगर प्रमुख कन्थमनी प्रसाद जैसवालको नेतृत्वमा गरुडा नगरपालिकामा विकासको गति तीव्र भएको भन्दै स्थानीयहरूले प्रशंसा गरेका छन्। विद्यालय उद्घाटन समारोहमा उपस्थित वडा नं. ६ का स्थानीय नन्दलाल यादवले भने, “नगर प्रमुख जैसवाल निर्वाचित भएदेखि गरुडामा चौतर्फी विकास भइरहेको छ। शिक्षा, स्वास्थ्य, सडक, खानेपानी जस्ता आधारभूत सुविधाहरूमा आमूल परिवर्तन देखिएको छ।”
विद्यालय व्यवस्थापन समितिले नगरपालिकालाई विद्यालय स्तरोन्नतिमा दिएको योगदानका लागि विशेष धन्यवाद व्यक्त गरेको छ। विद्यालयका प्रधानाध्यापकले आगामी दिनमा थप शैक्षिक सुधारका कार्यक्रमहरू सञ्चालन गर्न नगरपालिका तथा सरोकारवालाहरूको सहयोग आवश्यक रहेको बताएका छन्।

