प्रदीप कुमार दास, रौतहट ।
वैशाख १४ गते, आईतवार ।
रौतहट जिल्लाको दक्षिण–पश्चिमी भेगमा अवस्थित बौधिमाई नगरपालिका वडा नम्बर–४, इनर्वारीका बासिन्दा पछिल्लो समय ‘दुले चोर’को आतंकबाट हैरान भएका छन्। वडाका विभिन्न टोलहरुमा दिनहुँजस्तै चोरीका घटना बढ्न थालेपछि स्थानीयहरुमा व्यापक चिन्ता र त्रास फैलिएको छ।
स्थानीयहरुको भनाइअनुसार, हप्तामा तीनदेखि चारवटा घरमा राती दुलो (पर्खालमा प्वाल पारेर) बनाइ चोरी गर्ने घटनाहरू भइरहेका छन्। चोरहरूले घरको कमजोर भागमा प्वाल बनाउने, भीत्र पस्ने र नगद, गरगहना तथा अन्य मूल्यवान सामानहरू लुटपाट गर्ने गरेको पाइएको छ। यति धेरै चोरीका घटनाहरू भए पनि स्थानीय प्रशासन भने उदासीन बनेको भन्दै स्थानीय भद्रभलादमी, बुद्धिजीवी र पीडितहरू आक्रोशित भएका छन्।
“हरेक रात सुत्दा डर लाग्छ। कतिखेर दुलो बनाइ चोर भित्र पस्ला भन्ने चिन्ताले निन्द्रा हराएको छ,” इनर्वारीका एक स्थानीय बासिन्दाले आफ्नो पीडा सुनाए।
चोरीका घटनाबाट सिंगो गाउँ नै त्रासमा छ। बालबालिका र वृद्धवृद्धाहरूमा त झन् बढी मानसिक असर परेको छ। कतिपय घरधुरीले त सुरक्षाका लागि राती पालैपालो बिउँझिएर निगरानीसमेत गर्न थालेका छन्।
यता, स्थानीय प्रशासनले भने चोरी नियन्त्रणका लागि आवश्यक कदम चालिरहेको दाबी गरेको छ। प्रहरी स्रोतका अनुसार, “केही सशंकित व्यक्तिहरूको निगरानी गरिएको छ र चोरी नियन्त्रणका लागि सुराकी सञ्जाल समेत विस्तार गरिएको छ। चाँडै चोरहरू पक्राउ पर्ने विश्वास लिइएको छ।”
त्यैपनि, पीडितहरू भने प्रशासनको गतिविधिबाट सन्तुष्ट देखिँदैनन्। “यदि प्रहरी प्रशासनले गम्भीर चासो देखाएको भए यति धेरै चोरीका घटना हुने थिएनन्,” स्थानीय एक समाजसेवीले दुखेसो गरे।
यसैबीच, वडास्तरीय जनप्रतिनिधिहरूले पनि समस्या गम्भीर हुँदै गएकाले नगरपालिकाको ध्यानाकर्षण गराउने र प्रशासनसँग समन्वय गरी थप सुरक्षा व्यवस्थापनको पहल गर्ने बताएका छन्।
बढ्दो चोरीका घटनाले इनर्वारी मात्र होइन, आसपासका बस्तीहरूमा पनि त्रासको वातावरण सिर्जना गरेको छ।

