प्रदीप सम्राट , रौतहट ।
जेठ ३० गते, शुक्रबार।
रौतहटको कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश जयसवालले पत्रकार सागर संगम ठाकुर र रवीन्द्र प्रजापतिलाई कुटपिट गरेको भन्ने आरोप अस्वीकार गरेका छन्। आज बिहान आफ्नै निवासमा पत्रकार सम्मेलन गरी उनले आफूलाई बद्नाम गर्न नियोजित षड्यन्त्र गरिएको दाबी गरे।
जयसवालले सामाजिक सञ्जालमा खानेपानी सेवा अवरुद्ध भएको विषयमा स्ट्याटस लेखिएपछि विवाद उत्पन्न भएको र त्यस क्रममा केही व्यक्तिहरूबीच सामान्य भनाभन र धकेलाधकेल मात्रै भएको बताए। पत्रकार सागरलाई सामान्य चोटपटक लागेको भए पनि आफूले कुटपिट नगरेको उनले स्पष्ट पारे।
त्यस्तै, पत्रकार रवीन्द्र प्रजापतिसँगको भनिएको गालीगलौजसम्बन्धी भाइरल अडियो आफूले नगरेको र एआई प्रविधिमार्फत आवाज नक्कल गरी बदनाम गराउन खोजिएको उनको आरोप छ।
खानेपानी सेवा अवरुद्ध हुनुमा आफू नभई केही समिति पदाधिकारी जिम्मेवार रहेको जिकिर गर्दै उनले सेवा चाँडै सुचारु हुने प्रतिबद्धता जनाए। यस्ता घटना पुनः नदोहोरिने विश्वास दिलाउँदै जयसवालले सहकार्यको आह्वान गरे।

