प्रदीप सम्राट, रौतहट ।
आषाढ ०१ गते, आईतवार ।
रौतहट जिल्लाको राजदेवी नगरपालिका वडा नं. ९ ब्रहम्पुरी टोलमा आइतबार एक हृदयविदारक घटना घटेको छ । १४ वर्षीय बालकले सामान्य देखिने एक घटनाले मानसिक रुपमा विचलित भइ आत्महत्या जस्तो भयावह कदम चालेका छन्।
स्थानीय संजय दासका कान्छा छोरा सोहिल दासले आइतबार बिहान आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेका हुन् । परिवारका अनुसार, बिहान करिब ७ बजेतिर ट्युसन जानका लागि तयारी गरिरहेका सोहिलले आफ्नी आमासँग साइकल किनिदिन आग्रह गरेका थिए । आमाले तत्काल आर्थिक अवस्था कमजोर भएको भन्दै “अहिले होइन, केही दिनमा किनिदिन्छु” भनेर सम्झाउने प्रयास गरेकी थिइन् । सोहिल भने त्यस कुराले असन्तुष्ट बनेका थिए ।
सामान्य पारिवारिक संवादकै सिलसिलामा आमा कामको सिलसिलामा घरबाहिर गएकी बेला, घरमा कोही नभएको मौका छोपी सोहिलले करिब ८:३० बजेको समयमा आफ्नै कोठामा पासो लगाएर आत्महत्या गरेका थिए।
जब आमा घर फर्किइन्, छोरालाई झुन्डिएको अवस्थामा देखेर छरछिमेकको सहयोगमा तत्काल फाँसीबाट झारेर प्रादेशिक अस्पताल गौर पुर्याइएको थियो। तर, चिकित्सकहरूले अस्पतालमा पुर्याएपछि उनलाई मृत घोषित गरे।
घटनाको खबरले ब्रहम्पुरी टोल मात्र होइन, सम्पूर्ण समाजलाई स्तब्ध बनाएको छ । हँसिलो स्वभाव, पढाइमा रुचि राख्ने र अनुशासित बालकका रूपमा चिनिन्थे सोहिल । केही सामान्य कारण र बालमनोविज्ञानको असमझदारीका कारण एउटा उज्यालो भविष्य समयमै गुमाउनु परेको दुःखद घडीले सबैलाई मर्माहत बनाएको छ।
शवलाई पोस्टमार्टमपछि साँझ करिब ५:३० बजे एम्बुलेन्समार्फत घर ल्याइएको थियो । परिवारजन, आफन्त तथा स्थानीयबासीहरू शोकमा डुबेका छन्।
यो घटनाले समाजमा बालबालिकाको मानसिक अवस्थाप्रति संवेदनशील हुन आवश्यक रहेको सन्देश दिन्छ। सानो कुरामा रिस उठ्नु, आत्मसम्मानमा ठेस पुग्नु वा तुच्छ ठानिएको महसुस हुनु जस्ता कुराले बालमनोविज्ञानमा गहिरो प्रभाव पार्न सक्छ। अभिभावक, शिक्षक, समाज र राज्यले संयुक्तरूपमा बालबालिकाको मानसिक स्वास्थ्यप्रति चासो लिनु अत्यावश्यक छ।
घटनाबारे थप अनुसन्धान भइरहेको र आत्महत्याको पछाडिको वास्तविक कारण पत्ता लगाउन प्रहरीले आवश्यक अनुसन्धान प्रारम्भ गरिसकेको जनाएको छ।

