कटहरिया नगरपालिकाको ११ औं नगरसभा सफलतापूर्वक सम्पन्न, नगरप्रमुख अजय प्रकाशले गरे ५४ करोड २५ लाखको बजेट सार्वजनिक

प्रदीप सम्राट, रौतहट। 

आषाढ ०३ गते,मंगलबार ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संरचनाअनुसार प्रदेश, संघ र स्थानीय गरी तीन तहका सरकारहरूमध्ये जनतासँग प्रत्यक्ष सरोकार राख्ने तह स्थानीय सरकार हो। संघीयता लागू भएपछि सिंहदरबारका अधिकार गाउँ–गाउँसम्म पुगोस् भन्ने उद्देश्यले स्थानीय तहलाई स्थानीय सरकारको रूपमा अधिकार प्रत्यायोजन गरिएको छ। संविधान कार्यान्वयनसँगै २०७२ सालमा स्थानीय तह स्थापना भई २०७४ सालमा पहिलोपटक स्थानीय निर्वाचन सम्पन्न भएको थियो भने दोस्रो कार्यकालका लागि २०७९ सालमा निर्वाचन सम्पन्न भई अहिले झण्डै तीन वर्ष बितिसकेको छ।

तर, रौतहट जिल्लाको कटहरिया नगरपालिकामा भने विगतका वर्षहरूमा नगरसभा तोकिएको मितिमा सम्पन्न नभएको इतिहास रहेको स्थानियहरू बताउँछन्। त्यस्तो अवस्थामा समेत आर्थिक वर्ष २०८२/०८३ का लागि ११ औं नगरसभा भने नगरप्रमुख अजय प्रकाश जयसवाल र प्रमुख प्रशासकीय अधिकृत विरबहादुर साह लहेराको सशक्त नेतृत्वमा मिति २०८२ असार ३ गते मंगलबारको दिन निर्धारित मितिमा नै शान्तिपूर्णरूपमा सम्पन्न भएको छ।

यस नगरसभाको सफल आयोजनाले स्थानीय जनप्रतिनिधि, कर्मचारी, सञ्चारकर्मी, सुरक्षाकर्मी तथा नगरबासीहरूलाई आशावादी बनाएको छ। नगरबासीहरू मात्र नभई नगरपालिकाका कार्यपालिका सदस्यहरूले समेत नगरप्रमुख जयसवाल र प्रमुख प्रशासकीय अधिकृत लहेराको कार्यकुशलताको खुलेरै प्रशंसा गरेका छन्। कार्यालयको वातावरण, समयमै सभा आयोजना र शान्तिपूर्ण ढंगले कार्यक्रम सञ्चालन भएकोले प्रमुख प्रशासकीय अधिकृत लहेराको कार्यकालमा ‘विकासको अनुभूति हुने’ आशा बढेको स्थानीयको विश्वास छ।

नगरसभामा नगरप्रमुख अजय प्रकाश जयसवालले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै कूल रु. ५४ करोड २५ लाख ५२ हजार ४७५ को बजेट प्रस्तुत गरेका छन्। बजेट प्रस्तुत गर्दै नगरप्रमुख जयसवालले नगर विकासको लागि स्थानीय सरकार मात्र पर्याप्त नहुने भन्दै सम्पूर्ण नगरबासी, समुदाय र सरोकारवालाहरूको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे।

उनले सामाजिक न्याय सुनिश्चित गर्दै पूर्वाधार निर्माण, शिक्षा, कृषि, स्वास्थ्य र आर्थिक विकासमा विशेष प्राथमिकता दिइएको नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए। साथै, नगरप्रमुखले विगतको अनुभवलाई मध्यनजर गर्दै आगामी वर्ष नगरपालिकालाई अझ पारदर्शी, प्रभावकारी र सेवा–मुखी बनाउन सबैलाई हातेमालो गर्दै अघि बढ्न आग्रह गरे।

नगरसभा समारोहमा नगरपालिकाका उपप्रमुख, वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, नगरबासी, विद्यालयका प्रधानाध्यापकहरू, नगरपालिकाका कर्मचारीहरू, सञ्चारकर्मीहरू तथा सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा विभिन्न व्यक्तिहरूले आ–आफ्ना धारणा राख्दै नगरको समग्र विकासका लागि योजनाबद्ध र समन्वित प्रयास गर्नुपर्ने आवश्यकता औँल्याए।

कटहरिया नगरपालिकाको ११ औं नगरसभा निर्धारित मितिमा सफलतापूर्वक सम्पन्न हुनु भनेको स्थानीय शासन प्रणाली सुदृढ बन्दै गएको संकेतको रूपमा लिइएको छ। अबको चुनौती भनेको सार्वजनिक गरिएका योजना र बजेटलाई प्रभावकारीरूपमा कार्यान्वयन गर्नु हो, जसका लागि सम्पूर्ण सरोकारवाला निकायहरूको साझा प्रयास अपरिहार्य देखिन्छ।

ताजा समाचार

Related Articles