गरुडा नगरपालिकाको १३औं नगरसभा तथा नवौं बजेट अधिवेशन सम्पन्न, ६९ करोडको बजेट सर्वसम्मत पारित

प्रदीप सम्राट,रौतहट।

आषाढ ०६ गते, शुक्रबार ।

रौतहट जिल्लाको गरुडा नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ६९ करोड २६ लाख १७ हजार ३ सय ६७ रुपैयाँ बराबरको बजेट पारित गरेको छ। नगरपालिकाको १३औं नगरसभा तथा नवौं बजेट अधिवेशन शुक्रबार (असार ६ गते) नगरप्रमुख कन्थमणी प्रसाद जयसवालको अध्यक्षतामा भव्य र सफलतापूर्वक सम्पन्न भएको हो।

सभाको विशेष अवसरमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री माननीय राजकुमार गुप्ता प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुँदै नगरसभा तथा बजेट अधिवेशनलाई थप गरिमा प्रदान गर्नुभएको थियो। कार्यक्रममा नगर उपप्रमुख पुनम चौधरीज्यूले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि संशोधित नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभएको थियो। उहाँले प्रस्तुत गर्नुभएको उक्त बजेट सर्वसम्मत रूपले पारित गरिएको छ।

बजेटमार्फत नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार (सडक तथा यातायात), रोजगारी सृजना, लघु उद्यम प्रवर्द्धन, महिला सशक्तिकरण, बालबालिका संरक्षण, दलित, अपाङ्गता भएका व्यक्तिहरू तथा पछाडि पारिएका समुदायहरूको समावेशी हितका लागि नीति तथा कार्यक्रमहरू कार्यान्वयनमा ल्याउने प्रतिबद्धता व्यक्त गरिएको छ। नगरको समावेशी विकासलाई प्राथमिकता दिँदै आर्थिक समृद्धिको बाटो तय गर्ने खाका बजेटमा स्पष्ट रूपमा प्रस्तुत गरिएको छ।

नगरसभा कार्यक्रमलाई सांसद, वडा अध्यक्षहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, जनप्रतिनिधिहरू, नागरिक समाजका अगुवा, सञ्चारकर्मीहरू, सुरक्षा निकायका प्रतिनिधिहरू, सरकारी कर्मचारीहरू तथा स्थानीय नगरवासीहरूको बाक्लो उपस्थिति तथा सहभागिताले थप गरिमामय बनाएको थियो।

नगरप्रमुख जयसवालले सभालाई सम्बोधन गर्दै आगामी वर्षमा गरुडा नगरपालिकालाई आर्थिक, सामाजिक तथा पूर्वाधार विकासको उत्कृष्ट नमुना बनाउने दृढ संकल्प दोहोर्याउनुभयो। उहाँले स्थानीय तहले जनताको दैनिक जीवनसँग प्रत्यक्ष सरोकार राख्ने भएकाले हरेक योजनामा पारदर्शिता, जवाफदेहिता र समावेशिता सुनिश्चित गर्दै अघि बढ्ने स्पष्ट दृष्टिकोण प्रस्तुत गर्नुभयो।

कार्यक्रमको समापनमा गरुडा नगरपालिकाले कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथि, संघीय मन्त्री, सांसद, वडा अध्यक्ष, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, सञ्चारकर्मी, सुरक्षाकर्मी, कर्मचारी तथा समस्त नगरवासीहरूप्रति हार्दिक आभार प्रकट गर्दै आगामी दिनमा समेत उत्तिकै साथ, सहयोग र सल्लाह अपेक्षा गरिएको जनाएको छ।

ताजा समाचार

Related Articles