कटहरिया-६ फतेपुरस्थित आधारभूत विद्यालयमा दुई कोठे पक्की भवनको शिलान्यास

प्रदीप सम्राट, रौतहट ।

आषाढ ०६ गते , शुक्रबार ।

रौतहटको कटहरिया नगरपालिका वडा नं. ६ फतेपुरमा अवस्थित श्री आधारभूत विद्यालयमा शुक्रवार एक औपचारिक कार्यक्रमका बीच दुई कोठे पक्की भवनको शिलान्यास गरिएको छ। नगरस्तरीय बजेट अन्तर्गत निर्माण हुन लागेको सो भवनको संयुक्त शिलान्यास नगरपालिकाकी उपप्रमुख रिता देवी यादव र वडा नं. ६ का वडाध्यक्ष जयराम चौधरीले संयुक्त रूपमा गर्नु भएको हो।

शिलान्यास समारोहमा स्थानीय बुद्धिजीवी, समाजसेवी, शिक्षक, अभिभावक, राजनीतिक प्रतिनिधि तथा भद्रभलाद्मीहरूको उल्लेखनीय उपस्थिति थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपप्रमुख यादवले आफ्नो कार्यकालको सुरुदेखि नै नगरबासीका चाहना, आवश्यकता र समृद्धिको पक्षमा काम गरिरहेको उल्लेख गर्दै शिक्षा क्षेत्रलाई सुदृढ बनाउनु आफूको पहिलो प्राथमिकता भएको बताइन्।

उपप्रमुख यादवले विद्यालयमा विद्यार्थीको चाप उच्च हुँदा कक्षाकोठाको अभावले शिक्षण सिकाइमा असर परेकोप्रति चिन्ता व्यक्त गर्दै भनिन्, “शैक्षिक वातावरणलाई व्यवस्थित र प्रभावकारी बनाउने हेतु यो भवन निर्माण थालिएको हो। यो संरचना निर्माणसँगै अब विद्यार्थीहरू वर्षा, घाम र हावापानीको प्रभावमा नपरी शान्त वातावरणमा पढ्न सक्नेछन्।”

उक्त अवसरमा उपप्रमुखले विद्यालयका सम्पूर्ण शिक्षकहरूलाई नियमित रूपमा समयमै उपस्थित भई गुणस्तरीय शिक्षणमा ध्यान दिन आग्रह गर्दै शैक्षिक सुधारका लागि आफू सधैं तयार रहने दृढता व्यक्त गरिन्।

कार्यक्रममा वडाध्यक्ष जयराम चौधरीले शिक्षा विकासलाई दीर्घकालीन लगानीको रूपमा लिनु आवश्यक रहेको भन्दै भने, “आजको संरचना निर्माणले भोलिका दिनमा नयाँ पुस्तालाई राम्रो वातावरणमा अध्ययन गर्ने अवसर दिलाउनेछ। हामी स्थानीय प्रतिनिधिको तर्फबाट विद्यालयमा आवश्यक सबै प्रकारका विकास निर्माणका लागि प्रतिबद्ध छौं।”

कार्यक्रममा भवन निर्माण कार्य शीघ्र सुरु गरी तोकिएको समयमै सम्पन्न गर्ने तथा गुणस्तरीय निर्माण कार्य सुनिश्चित गरिने जानकारी पनि गराइएको थियो।

शिलान्यास कार्यक्रममा अञ्जित कुशवाहा, उमेश सहनी, क्रान्ति प्रसाद कुशवाहा, राजेश सहनी, राजेश यादव, राकेश यादव, शिक्षक पवन कुमार चौधरीलगायत स्थानीय भद्रभलाद्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले विद्यालयको प्रगति र शैक्षिक गुणस्तर वृद्धिका लागि सामूहिक प्रयास आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।

ताजा समाचार

Related Articles