वृन्दावन–८ स्थित ऐतिहासिक छठघाटको पुनःजीवन: १८ दिनको माटो भराई अन्तिम चरणमा, बाटोसहित सौन्दर्यकरण कार्य सम्पन्न हुँदै

प्रदीप सम्राट, रौतहट ।

आषाढ ०६ गते, शुक्रबार ।

रौतहट — सयौं वर्ष पुरानो धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको वृन्दावन नगरपालिका–८ स्थित बहुअरी–पिपरिया छठघाटको पुनःनिर्माण तथा सौन्दर्यकरण कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ। लामो समयदेखि बेवास्तामा परेको उक्त छठघाट र त्यसतर्फ जाने बाटोको अहिले वृहत पुनरुत्थान भइरहेको छ, जसले आगामी दिनमा धार्मिक पर्यटक र श्रद्धालुहरूलाई सहज बनाउने विश्वास लिइएको छ।

गत १८ दिनदेखि निरन्तर रुपमा माटो भराईको काम भइरहेको छ, जसले घाट वरपरको क्षेत्रलाई समथर र व्यवस्थित बनाएको छ। हाल माटो भराई कार्य अन्तिम चरणमा पुगेको छ भने, साथसाथै छठघाटसम्मको बाटोको मर्मत–सम्भार, सडकको चौरिकरण र सम्पूर्ण घाट क्षेत्रको सौन्दर्यकरण कार्य पनि अन्तिम रुपतिर अगाडि बढिरहेको छ।

धार्मिक आस्थाको केन्द्र रहँदै आएको यो छठघाट वर्षौंदेखि उपेक्षामा रहँदै आएको थियो। सडकको सुविधा नहुँदा व्रतालुहरू र श्रद्धालुहरू वर्षौंसम्म असहज यात्रा गर्न बाध्य थिए। तर, वर्तमान नगर नेतृत्वको सक्रियता र दृढ इच्छाशक्तिले गर्दा यो ऐतिहासिक स्थान पुनः जीवन पाउँदैछ।

वृन्दावन नगरपालिकाका नगरप्रमुख विनोद प्रसाद कुर्मीको नगरस्तरीय बजेटबाट प्राप्त विशेष सहयोग, वडा नं–८ का वडाअध्यक्ष रविन्द्र प्रसाद साहको विशेष पहल तथा नगर कार्यपालिकाका सदस्य राजेश पासवान ‘निर्माणी’ को निरन्तर सक्रियता र नेतृत्वमा यो महत्त्वपूर्ण कार्य अहिले सफलता तर्फ अघि बढिरहेको छ।

छठ पर्व हिन्दू धर्मालम्बीहरूका लागि विशेष महत्व राख्ने पर्व हो। वर्षेनी हजारौं श्रद्धालुहरू यस घाटमा सामूहिक रुपमा व्रत बस्ने, सूर्यदेवतालाई अर्घ दिने र धार्मिक अनुष्ठान गर्ने गर्दछन्। अब पुनःनिर्माणको चरण पुरा भएपछि व्रतालुहरूलाई शान्त वातावरण सफा र समथर स्थल तथा व्यवस्थित पहुँच मार्ग सहितको सुन्दर छठघाटमा व्रत बस्न पाउने सुनिश्चित भएको छ।

स्थानीय बासिन्दाहरूले यस पहलप्रति गहिरो कृतज्ञता व्यक्त गरेका छन्। “पहिलेको तुलनामा अहिलेको छठघाट चिनिनै नसकिने गरी परिवर्तन भइरहेको छ,” एक व्रतालुले भने, “यो परिवर्तन नगर प्रमुख कुर्मी सर, वडा अध्यक्ष साह  र राजेश पासवान जस्ता नेतृत्वकर्ताको समर्पणको फल हो।”

यो पहलले न केवल धार्मिक आस्थालाई सम्बोधन गरेको छ, बरु स्थानीय पूर्वाधार विकास र पर्यटन प्रवर्द्धनमा समेत टेवा पु¥याउने विश्वास लिइएको छ। अब बहुअरी–पिपरिया छठघाट मात्र धार्मिक स्थल नभई वृन्दावन नगरपालिकाको एउटा नमूना पहिचानको केन्द्र बन्ने देखिएको छ।

ताजा समाचार

Related Articles