रौतहटको दुर्गा भगवती गाउँपालिकामा आवास वितरण कार्यक्रम अनुगमन, अध्यक्ष शम्भू सिंहद्वारा पारदर्शिता र गुणस्तरमा जोड

प्रदीप सम्राट, रौतहट ।

आषाढ १२ गते,बिहीबार ।

रौतहटको दुर्गा भगवती गाउँपालिका–३, मत्सरीमा आज गरिब, विपन्न तथा घरविहीन परिवारहरूलाई लक्षित गर्दै सञ्चालन गरिएको आवास निर्माण तथा वितरण कार्यक्रमको स्थलगत अनुगमन गाउँपालिका अध्यक्ष शम्भू सिंहले गर्नुभएको छ।

“हाम्रो पालिका, राम्रो पालिका” भन्ने मूल नारालाई आत्मसात गर्दै सञ्चालनमा ल्याइएको उक्त आवास कार्यक्रमले गाउँपालिकामा वासस्थान अभावमा पीडित परिवारहरूको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने देखिएको छ।

स्थानीयस्तरमै आयोजना गरिएको आजको कार्यक्रममा अध्यक्ष सिंहले निर्माणाधीन घरहरूको अवस्था प्रत्यक्ष अवलोकन गर्दै प्रगति विवरण बुझ्नुका साथै कामको गुणस्तरमा विशेष ध्यान दिन सम्बन्धित निकायहरूलाई निर्देशन दिनुभएको थियो। उहाँले निर्माणको हरेक चरण पारदर्शी र जनउत्तरदायी हुनु पर्नेमा जोड दिँदै भन्नुभयो,

“सरकारको योजना जनताको लागि हो, त्यसैले अनुगमन र मूल्यांकनमा पनि जनताको सहभागिता अपरिहार्य छ। सबै मिलेर पारदर्शिता, गुणस्तर र समयमै योजना सम्पन्न गर्नेतर्फ हामी प्रतिबद्ध छौं।”

अनुगमन टोलीमा वडा नं. ३ का वडाध्यक्ष डिके झा, प्राविधिक कर्मचारीहरू, निर्माण समिति सदस्यहरू, साथै स्थानीय बासिन्दाहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो। अनुगमनको क्रममा स्थानीयले आवास योजना प्रति उत्साह व्यक्त गर्दै यस्ता कार्यक्रमले सामाजिक रूपान्तरणमा टेवा पुर्‍याउने बताएका थिए।

दुर्गा भगवती गाउँपालिकाले चालू आर्थिक वर्षमा वासस्थानविहीन परिवारहरूलाई प्राथमिकतामा राखी आवास निर्माणका लागि प्रोत्साहन स्वरूप नगद तथा प्राविधिक सहयोग प्रदान गर्दै आएको छ। गाउँपालिकाका अनुसार पारदर्शी छनौट प्रक्रियामार्फत वास्तविक पात्रहरूलाई लक्षित गरी योजना कार्यान्वयनमा ल्याइएको हो।

अध्यक्ष सिंहको नेतृत्वमा विकासका पूर्वाधारसँगै सामाजिक सुरक्षा र समावेशी योजनाहरूलाई समेत प्राथमिकतामा राखी दुर्गा भगवती गाउँपालिकाले पछिल्ला दिनहरूमा उल्लेखनीय प्रगति हासिल गर्दै आएको छ ।

ताजा समाचार

Related Articles