प्रदीप सम्राट, रौतहट ।
आषाढ १३ गते, शुक्रबार ।
रौतहटको गौर नगरपालिकामा आज एक विशेष कार्यक्रमका बीच किसानहरूको लागि १७० थान कृषि स्प्रे टंकी वितरण गरिएको छ। सल्भनेपाल काठमाण्डौको सहयोग तथा गौर नगरपालिकाको सहकार्यमा सम्पन्न कार्यक्रममा नगर क्षेत्रका वडानम्बर १ देखि ९ सम्मका कृषकहरू लाभान्वित भएका छन्।
कृषिमा आधुनिक प्रविधिको पहुँच विस्तार गर्दै कीटनाशक र मलजल छर्कन सहज बनाउने उद्देश्यले टंकी वितरण गरिएको हो। नगरप्रमुख शम्भु साहको अध्यक्षतामा आयोजित कार्यक्रममा उनले किसानहरूलाई प्रविधिमैत्री बनाउन यस्ता कार्यक्रमको निरन्तरता आवश्यक रहेको बताए।
“हाम्रो प्राथमिकता कृषिमा आत्मनिर्भरता हो। प्रविधिको प्रयोगले उत्पादकत्वमा वृद्धिसँगै किसानको जीवनस्तरमा पनि सुधार ल्याउनेछ,” प्रमुख साहले भने।
कार्यक्रममा सल्भनेपालका प्रतिनिधि, जनप्रतिनिधिहरू, कर्मचारीहरू तथा स्थानीय किसानहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागी किसानहरूले यस्ता कार्यक्रमले आफूहरूलाई हौसला मिलेको प्रतिक्रिया दिएका छन्।
गौर नगरपालिकाले आगामी दिनहरूमा पनि किसानलाई लक्षित गरी यन्त्र, तालिम र अन्य प्रविधि उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

