वृन्दावन नगरसभा स्थगनमा नेकपा एसको कडा आपत्ति, उपप्रमुख संगीता राममाथि गम्भीर आरोप

वृन्दावन नगरसभा स्थगनमा नेकपा एसको कडा आपत्ति, उपप्रमुख संगीता राममाथि गम्भीर आरोप

प्रदीप सम्राट, रौतहट ।

रौतहट, असार १३ गते ।

वृन्दावन नगरपालिकाको नगरसभा अदालतको आदेशमार्फत स्थगित गराएको विषयलाई लिएर नेकपा (एकीकृत समाजवादी) वृन्दावन नगर कमिटीले गम्भीर आपत्ति जनाएको छ। पार्टीले उपप्रमुख संगीता देवी राममाथि संगठनविरोधी गतिविधिमा संलग्न भएको आरोप लगाउँदै तीव्र आलोचना गरेको छ।

पार्टीका नगर कमिटी अध्यक्ष सुरेन्द्र प्रसाद पटेलले पत्रकारहरूसँग कुरा गर्दै उपप्रमुख रामले विपक्षी दलको निर्देशनमा चल्दै लोकतान्त्रिक अभ्यासमाथि प्रहार गरेको आरोप लगाएका छन्।

“जनप्रतिनिधि भएर जनताको मुद्धा उठाउनुको सट्टा उपप्रमुख व्यक्तिगत स्वार्थ र बाह्य राजनीतिक प्रभावमा तानिँदै पार्टीको नीति र सिद्धान्तलाई चुनौती दिइरहेकी छन्,” अध्यक्ष पटेलले भने।

उनका अनुसार उपप्रमुख रामले पार्टीबाटै निर्वाचित भए पनि पछिल्लो समय नगरसभा स्थगनजस्तो गम्भीर निर्णय अदालतमार्फत गराउँदै स्थानीय विकास र लोकतान्त्रिक प्रक्रियामा बाधा पुर्याएकी छन्।

“नगरसभा स्थगन गर्नु भनेको नगरवासीको विकास अधिकारमाथि हस्तक्षेप गर्नु हो,” पटेलले भने, “यसले पार्टी भित्रै द्विविधा सिर्जना गर्नुका साथै नगर सञ्चालनको समन्वयात्मक ढाँचा भत्काएको छ।”

पार्टीद्वारा जारी गरिएको विज्ञप्तिमा उपप्रमुख रामले नगरपालिकाको महत्वपूर्ण नीति तथा कार्यक्रमहरू अघि बढ्न नदिएको र यस्ता कार्यले नगरका धेरै योजनाहरू प्रभावित बनाएको उल्लेख छ।

“यदि उहाँलाई कुनै असहमति थियो भने पार्टी भित्र छलफल गरेर समाधान खोजिन सक्थ्यो,” विज्ञप्तिमा भनिएको छ, “तर अदालत धाएर सम्पूर्ण प्रक्रिया अवरुद्ध गर्नु लोकतन्त्रविरोधी र जनअवहेलनाको नमूना हो।”

नगर कमिटीले उपप्रमुख राममाथि बाह्य दबाबमा काम गरिरहेको संकेत गर्दै उहाँका पति अरुण रामको पनि भूमिका प्रश्नवाचक बनाएको छ। अध्यक्ष पटेलले भने, “अरुण राम अहिले नेकपा एमालेमा प्रवेश गरेपछि उपप्रमुख राममाथि एमालेको प्रभाव बढेको छ, जसले गर्दा उहाँ पार्टी र जनताको मर्म बिर्सेर कार्य गरिरहनुभएको छ।”

पत्रकारहरूले उपप्रमुख संगीता रामको प्रतिक्रिया लिन प्रयास गर्दा पटक–पटक सम्पर्क गर्दा पनि उहाँबाट कुनै जवाफ प्राप्त हुन सकेन।

ताजा समाचार

Related Articles