प्रदीप सम्राट, रौतहट ।
आषाढ १५ गते, आईतवार ।
“मानो रोपेर मुरी उब्जाउने” जनजीवनसँग गाँसिएको परम्परागत कृषि दिवस, २२औँ राष्ट्रिय धान दिवस, बृन्दावन नगरपालिकामा विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको छ। ‘ धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नारासहित धान दिवसको अवसरमा नगरपालिकाको कृषि विकास शाखाको आयोजनामा रोपाइँ महोत्सव सम्पन्न गरिएको हो।
उक्त कार्यक्रममा बृन्दावन नगरपालिकाका विभिन्न वडाका वडाध्यक्षहरू ,वडा नम्बर -१ का रामनाथ सहनी,४ का फेकू दास तत्मा, ६ का मजहर मन्सुर,७ का जगनाथ पाल, प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर भुजेल,स्थानिय किसान, बुद्धिजीवी वर्ग तथा स्थानीय बासिन्दाहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले परम्परागत शैलीमा खेतमा उत्रेर हिलो खेल्दै रोपाइँमा सक्रिय सहभागिता जनाएका थिए।
प्रमुख प्रशासकीय अधिकृत भुजेलले कार्यक्रममा बोल्दै, “यो देश कृषि प्रधान हो। किसानले उत्पादन गरेको अन्नले सम्पूर्ण प्राणीको जीवन चल्दछ,” भन्दै कृषकहरूको योगदानको प्रशंसा गरेका थिए। साथै, कृषकहरूलाई आवश्यक समयमा मलखाद, बिउबिजन लगायतका सामग्रीहरू सहज रूपमा उपलब्ध गराउनेतर्फ सरकार गम्भीर हुनुपर्ने आवश्यकता औँल्याउँदै पालिकाबाट सम्भव सहयोग पुर्याउने प्रतिबद्धता पनि जनाएका छन् ।
धान दिवसको अवसरमा दही-चिउरा खाने चलन, कृषि उत्पादन र प्रकृतिप्रतिको आस्था एवं सम्मानको प्रतीकका रूपमा रहेको छ। यस्तो पर्वले कृषिप्रति जनचासो र युवापुस्तामा लगाव जगाउने उद्देश्य राखेको देखिएको छ।