प्रदीप सम्राट, रौतहट ।
आषाढ १८ गते , बुधबार ।
रौतहट जिल्लाको गरुडा नगरपालिकामा झाझ नदी हुँदै लक्ष्मीपुर जोड्ने सडकको स्तरोन्नति कार्य सम्पन्न भएपछि बुधबार एक भव्य कार्यक्रमकाबीच सो सडकको औपचारिक उद्घाटन गरिएको छ। नगर प्रमुख कन्थमनि प्रसाद जयसवालले सडकको उद्घाटन गर्दै जनताको आधारभूत आवश्यकता पूरा गर्न नगरपालिकाले विकासका कामलाई तिव्रता दिइरहेको स्पष्ट पार्नुभयो ।

विगतका वर्षहरूमा प्रत्येक वर्षा याममा पानी, हिलो र खाल्डाखुल्डीले भरिएको सो सडकमा सर्वसाधारणलाई हिँडडुल गर्न समेत सकस हुने गरेको थियो। स्थानीयहरूका अनुसार उक्त सडक हुँदै हिँड्दा स्कुले बालबालिका, वृद्धवृद्धा र सवारीसाधन चलाउने चालकहरूलाई निकै जोखिम हुनुपर्ने अवस्था थियो। तर हाल स्तरोन्नतिको काम सम्पन्न भएसँगै सो सडक अब सहज, सुरक्षित र सौन्दर्यपूर्ण बनेको छ ।
सडक उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख जयसवालले झाझ नदीमाथि रहेको फलामे पुल पनि पूर्ण रूपमा सञ्चालनमा आइसकेको जानकारी दिनुभयो। उहाँले पुल र सडकको संयुक्त सुधारले गरुडा नगरभित्रका विभिन्न वडाहरूलाई आवतजावत, व्यापारिक आवागमन तथा सेवा प्रवाहमा सहजता पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

नगर प्रमुख कन्थमनि प्रसाद जयसवालले भने “जनताको आवश्यकता नै हाम्रो प्राथमिकता हो। विकासको मार्गमा कुनै कसर बाँकी राखिने छैन,”।
नगर प्रमुखले कार्यक्रमका बीच स्थानीय जनताको साथ, सहकार्य र सुझाव नै आगामी योजनाहरूको आधार हुने भन्दै समावेशी र पारदर्शी विकास सुनिश्चित गर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।
कार्यक्रममा नगर प्रमुख जयसवाल प्रमुख अतिथि रहनु भएको थियो भने वडा अध्यक्षहरू, विभिन्न विद्यालयका शिक्षक-शिक्षिका, विद्यार्थी, समाजसेवी, राजनीतिक दलका प्रतिनिधिहरू तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता देखिएको थियो।
सडक स्तरोन्नति तथा पुल सञ्चालनपछि स्थानीय समुदायमा उत्साह र आशा थपिएको छ। स्थानीयवासीहरूले खुशी व्यक्त गर्दै अब दैनिक आवतजावत, व्यवसाय सञ्चालन तथा सामाजिक गतिविधिहरूमा सहजता आउने विश्वास व्यक्त गरेका छन्।