प्रदीप सम्राट ,रौतहट ।
असार १९ गते , बिहीबार ।
रौतहटको फतुवा विजयपुर नगरपालिका–२, शितलपुरमा सिँचाइका लागि मोटर चलाउने क्रममा करेन्ट लागेर एक युवकको ज्यान गएको छ।
बिहीबार बिहान करिब ७:१५ बजे स्थानीय ३० वर्षीय रोहित साह सोनार आफ्नै खेतमा सिँचाइका लागि मोटर सञ्चालन गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए।

घटनापछि इलाका प्रहरी कार्यालय सन्तपुर दोस्तियाबाट प्रहरी निरीक्षक (सई) गजेन्द्र कुमारको नेतृत्वमा तीन सदस्यीय प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
गम्भीर अवस्थामा रहेका साहलाई तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल, कलैया (बारा) लगिएको थियो। तर उपचारका क्रममा बिहान ८:०० बजे डाक्टरले उनलाई मृत घोषणा गरेका थिए।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दीपक कुमार रायका अनुसार मृतकको शव हाल प्रादेशिक अस्पताल कलैयामै राखिएको छ।
घटनास्थल इलाका प्रहरी कार्यालय सन्तपुर दोस्तियाबाट करिब पाँच किलोमिटर दक्षिणमा पर्दछ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।