चन्द्रपुरमा उद्घोषण तथा पत्रकारिता तालिम सुरु, स्थानीय युवालाई दक्ष बनाउने उद्देश्य

प्रदीप सम्राट, रौतहट

असार २० गते, शुक्रबार

रौतहटको चन्द्रपुर नगरपालिकामा सञ्चार माध्यम र उद्घोषण क्षेत्रमा रुचि राख्ने स्थानीय युवाहरूलाई लक्षित गर्दै तीन दिवसीय उद्घोषण तथा पत्रकारिता तालिम सुरु गरिएको छ। चन्द्रपुर नगरपालिका–६ स्थित होटल अल्पाइनको सभा हलमा शुक्रबार एक विशेष समारोहका बीच तालिमको औपचारिक सुरुवात गरिएको हो।

तालिम बाबा बर्फानी मल्टिपर्पोज एण्ड मिडिया प्रालिको आयोजनामा तथा चन्द्रपुर नगरपालिका वडा नम्बर ६ को आर्थिक तथा व्यवस्थापकीय सहकार्यमा सम्पन्न भइरहेको छ। कार्यक्रमको उद्घाटन नगरप्रमुख सञ्जय काफ्लेले दीप प्रज्वलन गर्दै गरेका थिए। उनले तालिमलाई स्वर्गीय वरिष्ठ पत्रकार फनी महतप्रति श्रद्धाञ्जलीस्वरूप समर्पित गरिएको बताउँदै, सञ्चार क्षेत्रको मर्यादा, प्रभाव र दायित्वप्रति गम्भीर बन्नु अहिलेको आवश्यकता रहेको उल्लेख गरे।

कार्यक्रमको सुरुवाती चरणमा आयोजक संस्था बाबा बर्फानीका प्रबन्ध निर्देशक सन्तोष काफ्लेले स्वागत मन्तव्य राख्दै तालिमको उद्देश्य, लक्ष्य समूह र सम्भावित उपलब्धिबारे जानकारी दिएका थिए। उनले चन्द्रपुर नगर क्षेत्रभित्र सञ्चारकर्ममा रुचि राख्ने युवालाई व्यावसायिक दक्षता प्रदान गर्न तालिम महत्वपूर्ण हुने धारणा व्यक्त गरे।

कार्यक्रममा वडा नं. ६ का वडाध्यक्ष सहदेव जिसि, नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष सञ्जय कार्की, पत्रकार शिवपुरी, सुब्बा कार्की, बालबिक्रम कार्की, अशोक पहाडी लगायत विभिन्न सञ्चार संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

तीन दिनसम्म सञ्चालन हुने तालिममा उद्घोषण शैली, समाचार संकलन र लेखन, प्रस्तुतिकरण प्रविधि, पत्रकारिताका नीतिगत पक्ष, आचारसंहिता तथा समसामयिक मिडिया चुनौतीहरूको समेत विषयवस्तु समेटिएको छ। प्रशिक्षकहरूका अनुसार तालिम सहभागीहरूलाई व्यवहारिक अभ्यासमार्फत सशक्त बनाउने प्रयत्न गरिनेछ।

स्थानिय युवामा लुकेको प्रतिभा उजागर गर्दै उनीहरूलाई सकारात्मक ऊर्जा र सीपमार्फत सामुदायिक रूपान्तरणमा जोड्न यो तालिमले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ। आयोजकले तालिमपछि सहभागीतालाई प्रमाणपत्र प्रदान गरिने जानकारीसमेत दिएका छन्।

ताजा समाचार

Related Articles