प्रदीप सम्राट, रौतहट ।
असार २० गते , शुक्रबार ।
पूर्व प्रदेशसभा सदस्य अशोक यादव र सर्लाहीका प्रहरी प्रमुख (एसपी) योगेन्द्र बहादुर खड्काबीचको टेलिफोन संवाद गालीगलौजमा परिणत भएपछि सर्लाहीमा स्थिति तनावपूर्ण बनेको छ।
बिहीबार राति प्रहरीले यादवलाई पक्राउ गर्न सलेमपुरस्थित उनको निवासमा छापा मार्दा स्थानीयवासीले कडा विरोध जनाएका छन्। प्रहरीमाथि ढुंगामुढा भएपछि प्रयोग गरिएको सवारीसाधनमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सरोज राईले जानकारी दिए। उनका अनुसार उक्त झडपमा यादव फरार भएका छन्।
घटनाको मूल जड केही दिनअघिदेखि देखा परेको विवादसँग जोडिएको छ। प्रदेश सरकारअन्तर्गतको निजी आवास कार्यक्रम र पूर्वाधार विकास कार्यालय सर्लाहीमा देखिएको भनिएको अनियमितताको विषयमा पूर्व सांसद यादवले सार्वजनिक रूपमा आवाज उठाउँदै आएका थिए। उनले उक्त कार्यालयमा प्रहरीको संरक्षणमा भ्रष्टाचार भइरहेको गम्भीर आरोप लगाउँदै, उपभोक्ताबाट प्रति घर ५० हजार रुपैयाँ घूस मागिएको दाबी गरेका छन्।
“पीडित उपभोक्ताले गुनासो गरेपछि मैले एसपीलाई फोन गरेको थिएँ। तर, उहाँबाट गाली सुनियो, अनि जवाफमा मैले पनि केही शब्द फिर्ता गरेँ,” पूर्व सांसद यादवले पत्रकारहरूसँग भने।
तर, पूर्वाधार विकास कार्यालयका प्रमुख विजय यादव भने फरक धारणा राख्छन्। उनका अनुसार निर्माण कार्य अझै पूरा नभएकाले र कागजात अपूर्ण रहेका कारण उपभोक्ताहरूको भुक्तानी प्रक्रिया रोकिएको हो ।
एसपीलाई फोनमा अपशब्द प्रयोग गरेको अभियोगमा पूर्व सांसद यादवमाथि कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीको भनाइ छ। तर पक्राउको प्रयासका क्रममा झडप भएपछि घटनाले थप राजनीतिक र प्रशासनिक तनाव सिर्जना गरेको छ ।

