दुर्गाभगवती गाउँपालिकामा दुईदिने निःशुल्क मुटु स्वास्थ्य शिविर सुरु

प्रदीप सम्राट, रौतहट ।

आषाढ २१ गते, शनिबार ।

रौतहट जिल्लाको दुर्गाभगवती गाउँपालिका स्थित पिपरा भलोयिहामा रहेको सरस्वती माध्यमिक विद्यालयमा आजदेखि दुईदिने निःशुल्क मुटु स्वास्थ्य शिविर सुरु भएको छ । दुर्गाभगवती गाउँपालिकाको सहयोग र युवा नेपाल संघ, वीरगञ्जको आयोजनामा सञ्चालन गरिएको उक्त शिविरले स्थानीय बासिन्दाहरूलाई लक्षित गर्दै मुटु सम्बन्धी परीक्षण, रक्तचाप मापन, औषधि वितरण र चिकित्सकीय परामर्श प्रदान गरिरहेको छ ।

शिविरको उद्घाटन युवा नेपाल संघका अध्यक्ष गौरव वर्माको अध्यक्षतामा सम्पन्न भएको हो । प्रमुख अतिथिका रूपमा दुर्गाभगवती गाउँपालिकाका अध्यक्ष शम्भू सिंहको उपस्थिति रहेको थियो भने उपाध्यक्ष शिला देवी, वडा नं. १ का अध्यक्ष प्रधुम्न चौधरी, वडा नं. २ का अध्यक्ष सुरेश चौधरी र वडा नं. ३ का अध्यक्ष डी.के. झा लगायतका जनप्रतिनिधिहरूको विशेष सहभागिता रहेको थियो ।

शिविरमा स्वास्थ्य शाखा प्रमुख दिनेश महतोको समन्वयमा खटिएका विशेषज्ञ चिकित्सकहरूको टोलीले बिरामीहरूको परीक्षण तथा परामर्श दिएका छन् । चिकित्सक टोलीले दिनभर बिरामीहरूको स्वास्थ्य परीक्षण गरी उनीहरूलाई आवश्यक औषधिहरू समेत निःशुल्क वितरण गरेका छन्।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष शम्भू सिंहले स्वास्थ्य कार्यक्रमहरूलाई नागरिकसँगको सिधा सम्पर्कको सशक्त माध्यमका रूपमा चित्रित गरे। उनले भने, “स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो। गाउँपालिकाले यस्ता जनकल्याणकारी कार्यक्रमहरूलाई निरन्तरता दिनेछ।”

त्यस्तै, वडा नं. ३ का अध्यक्ष डी.के. झाले सबै नागरिकले समयमै स्वास्थ्य परीक्षण गराउनु आवश्यक रहेको उल्लेख गरे। “सुरुमा नै रोग पत्ता लागेमा बच्न सकिन्छ,” उनले भने, “स्वास्थ्यप्रति सचेत रहनु आजको आवश्यकता हो।”

दुई दिनसम्म सञ्चालन हुने शिविरमा स्थानीयको उल्लेखनीय सहभागिता देखिएको छ । आयोजक संस्थाले जनस्तरमा स्वास्थ्य चेतना फैलाउने उद्देश्यका साथ यस्तो पहल गरेको हो। स्थानीय तह र संस्थाबीचको सहकार्यले कार्यक्रमलाई प्रभावकारी बनाएको सहभागीहरूले बताएका छन् ।

ताजा समाचार

Related Articles