गरुडा नगरपालिकाको महम्मदपुरमा १० शैयाको अस्पताल निर्माणका लागि जग्गा खरिद प्रक्रिया सुरु
प्रदीप सम्राट, रौतहट ।
असार २२ गते, सोमबार ।
रौतहट जिल्लाको गरुडा नगरपालिकामा आम नागरिकको स्वास्थ्य सुरक्षालाई सर्वोच्च प्राथमिकता दिँदै, नगर प्रमुख कन्थमनी प्रसाद जयसवालको दूरदर्शी नेतृत्वमा स्वास्थ्य पूर्वाधार विस्तारको ऐतिहासिक अध्याय सुरु भएको छ।
नगरपालिका अन्तर्गत महम्मदपुर स्वास्थ्य चौकीलाई स्तरोन्नति गर्दै अब त्यहाँ १० शैयाको आधुनिक अस्पताल निर्माण गरिने भएको छ। सो उद्देश्यका लागि गरुडा नगरपालिकाले जग्गा खरिद गर्न रु. २२ लाख ५६ हजार २५० बराबरको चेक आज औपचारिक रूपमा हस्तान्तरण गरेको छ।

स्वास्थ्य क्षेत्रमा लगानीलाई दीर्घकालीन समृद्धिको जगका रूपमा लिने नगरप्रमुख जयसवालले कार्यक्रममा स्पष्ट घोषणा गरे :
“हामी नगरवासीको स्वास्थ्य सुरक्षामा कुनै पनि प्रकारको सम्झौता गर्नेछैनौं। आधारभूत स्वास्थ्य सेवा हरेक व्यक्तिको पहुँचमा पुगोस् भन्ने हाम्रो संकल्प हो। यो अस्पताल केवल एउटा भवन होइन, यो आम नागरिकप्रतिको हाम्रो जिम्मेवारीको मूर्त प्रतीक हो।”
सो अवसरमा उपस्थित वडा अध्यक्षहरू, स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, स्वास्थ्यकर्मी तथा सञ्चारकर्मीहरूले नगरप्रमुख जयसवालको पहलकदमीको खुलेर प्रशंसा गरे। स्थानीयस्तरमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने प्रयासको यो एउटा उत्कृष्ट उदाहरण भएको उनीहरूले बताए।
गरुडा नगरपालिकाले यस अघि पनि विभिन्न वडाहरूमा स्वास्थ्य चौकीको मर्मत, औषधि व्यवस्थापन र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। तर, स्थायी संरचना निर्माणका लागि भएको यो पहल नगरको इतिहासमै उदाहरणीय बनेको छ।

