प्रदीप सम्राट, रौतहट ।
अषाढ २८ गते, शनिबार ।
रौतहटको गरुडा नगरपालिकामा शिक्षा क्षेत्रको गुणस्तरीय सुधार र बालबालिकाको सर्वाङ्गीण विकासका लागि पालिकाभित्रका विद्यालयहरूमा शैक्षिक सामग्री वितरण कार्यक्रम तीव्र रूपमा अघि बढाइएको छ। बालमैत्री शिक्षाको प्रवर्द्धन र विद्यार्थीहरूको सिकाइ क्षमतामा उल्लेखनीय सुधार ल्याउने उद्देश्यले राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र शाखा चपुरको पहलमा यो अभियान सुरु गरिएको हो।
गत दुई दिनदेखि जारी वितरण कार्यक्रममा गरुडा नगरपालिकाभित्र रहेका १० वटा विद्यालयमा कक्षा १ देखि ३ सम्मका अध्ययनरत विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामाग्रीहरू प्रदान गरिएको छ। सामग्रीमा पाठ्यपुस्तक, शैक्षिक खेलकुद सामग्री, ह्वाइट बोर्ड, पिन बोर्ड लगायतका प्रयोगात्मक शिक्षामा सहयोग पुर्याउने सामग्रीहरू समावेश छन्।
वितरण गरिएका विद्यालयहरू:
वंशीराम अनाथालय श्री प्रा.वि. गरुडा
श्री नमुना मा.वि. गरुडा
श्री रामचन्द्र मा.वि. जिङ्गडीया
श्री मा.वि. गम्हरिया नयाँ श्रीपुर
श्री स्व. लालबाबु दाद प्रा.वि. सिस्वा
श्री आधारभूत विद्यालय पोठियाही–६
श्री प्राथमिक विद्यालय पोठियाही–६
श्री अमरपट्टी प्रा.वि.–६
श्री शंकर प्रा.वि.–७
श्री मा.वि. पिपरिया दोस्तिया–७

कार्यक्रमका क्रममा विद्यालय प्रशासन, शिक्षकगण, अभिभावक तथा विद्यार्थीहरूबाट समेत उत्साहजनक सहभागिता देखिएको छ। स्थानीय विद्यालयहरूले यस्तो सहयोगलाई अत्यन्तै स्वागतयोग्य भन्दै विद्यार्थीहरूको शैक्षिक यात्रामा ठोस मद्दत पुग्ने देखिएको छ।
नागरिकको जीवनस्तर उकास्न शिक्षा पहिलो र अपरिहार्य पूर्वाधार हो भन्ने मान्यताका साथ अगाडि बढ्दै गरेको यो अभियानले समुदायमा सकारात्मक सन्देश प्रवाह गरिरहेको छ। बालबालिकाको उज्ज्वल भविष्य सुनिश्चित गर्न स्थानीय तह, संघसंस्थाहरू र समुदायबीचको सहकार्य झनै मजबुत हुँदै गएको देखिन्छ।
गरुडा नगरपालिकाले यस्ता कार्यक्रमहरूलाई अझ प्रभावकारी बनाउँदै भविष्यमा पनि थप विद्यालयहरूमा यस किसिमको शैक्षिक सामग्री वितरण तथा सुधारात्मक कार्यक्रम विस्तार गर्दै लैजाने तयारी भइरहेको नगर प्रमुख जैसवालले जनाएका छन्।
यसैबीच, अभिभावकहरूले आफ्ना बालबालिकाको शिक्षामा यस्तो प्रकारको सहयोगले विद्यालयप्रति रुचि र नियमिततामा सुधार आउने भन्दै आभार प्रकट गरेका छन्। शिक्षकहरूका अनुसार, नयाँ सामग्रीले कक्षाकोठामा शिक्षण सिकाइ प्रक्रिया अझ आकर्षक र प्रभावकारी बन्नेछ ।