मालिनी खबर, रौतहट ।
भदौ ०९ गते, सोमबार ।
रौतहट जिल्लाको माधवनारायण नगरपालिका–६ माधोपुरकी २६ वर्षीया रुबीकुमारी साहको हत्या प्रकरणमा संलग्न भएको आशंकामा शव लुकाउन प्रयोग गरिएको ई–रिक्साका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार पक्राउ परेका चालक गौर बजारका लक्ष्मण महरा हुन्। अनुसन्धानका क्रममा खुलेको विवरणअनुसार हत्याराले रुबीको शव सुटकेसमा हालेर लैजानका लागि महराको ई–रिक्सा भाडामा लिएको थियो। उनले त्यसबापत पाँच सय रुपैयाँ भुक्तानी गरेको प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार उक्त ई–रिक्सा माधवनारायण–गगापिप्रा सडक हुँदै मुडवलवा गेटतर्फ गइरहेको समयमा बीच बाटोमै गाडीको चक्का बिग्रिएको थियो। त्यसपछि ई–रिक्सालाई फर्काइयो र शवसहितको सुटकेस सडकमा नै फ्यालेर हत्यारा फरार भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
पक्राउ परेका महराले भने आफूलाई सुटकेसभित्र के छ भन्ने जानकारी नरहेको बयान दिएका छन्। तर, प्रहरीले यो घटनामा उनको प्रत्यक्ष संलग्नता नभए पनि महत्त्वपूर्ण भूमिका खेलेको देखिएकाले अनुसन्धान जारी राखेको जनाएको छ।
शनिबार साँझ रुबीकुमारीलाई उनको एक चिनाजानाका व्यक्तिले गौर बजार बोलाएका थिए। आमा मिथिलादेवी साहलाई केही सामान ल्याउनुपर्ने भन्दै घरबाट निस्केकी उनी त्यसपछि हराइन्। राति अबेरसम्म घर नफर्केपछि परिवारले खोजी थालेको थियो।
त्यसै राति गौर नगरपालिका–९ मुडवलवा गेट नजिकै सडक छेउमा शंकास्पद अवस्थामा सुटकेस भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। राति तत्काल खोल्न नसके पनि आइतबार बिहान प्रहरीले खानतलासी गर्दा सुटकेसभित्र रुबीकुमारीको शव फेला परेको थियो।
घटनापछि प्रहरीले घटनास्थल वरपर अनुसन्धानलाई तीव्र पारेको छ। जिल्ला प्रहरी कार्यालयका डीएसपी राजु कार्कीका अनुसार हत्या गर्ने व्यक्तिको पहिचान लगभग भइसकेको छ र खोजी कार्य तीव्र पारिएको छ।