प्रदीप सम्राट, रौतहट ।
भदौ ३१, रौतहट ।
रौतहटको कटहरिया नगरपालिका–९ डुमरिया स्थित श्री माध्यमिक विद्यालयका विद्यार्थीलाई नगरपालिकाले शैक्षिक सामग्री वितरण गरेको छ । मंगलबार आयोजित कार्यक्रममा नगर प्रमुख अजय प्रकाश जैसवालले प्रमुख अतिथिका रूपमा सहभागिता जनाउँदै विद्यार्थीलाई पोशाक, टाई, बेल्ट, जुत्ता, मोजा, आईडी कार्ड तथा ब्याग उपलब्ध गराएका छन् ।
विद्यालयका प्रधानाध्यापक नवल किशोर ठाकुरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख जैसवालले विषम परिस्थितिमा पनि विद्यार्थीको शिक्षामा अवरोध नहोस् भन्ने उद्देश्यले सामग्री वितरण गरिएको बताउनुभयो । उहाँले विद्यार्थीलाई अनुशासनका साथ अध्ययनमा निरन्तरता दिन आग्रह गर्दै शिक्षाको गुणस्तर सुधार नगरपालिकाको पहिलो प्राथमिकता रहेको स्पष्ट पार्नुभयो ।
प्रधानाध्यापक ठाकुरका अनुसार २०८१/८२ सालको बजेट अन्तर्गत २२ लाख रुपैयाँको लागतमा खरिद गरिएको सामग्री मध्ये करिब ५ सय विद्यार्थीलाई वितरण गरिएको हो । विद्यालयमा हाल ६ सय विद्यार्थी अध्ययनरत छन् । विगतमा विद्यालयको अवस्था दयनीय भए पनि हाल नगरपालिकाको सहयोग र विद्यालय परिवारको प्रयासले विद्यालय सुधारोन्मुख अवस्थामा पुगेको उहाँले उल्लेख गर्नुभयो ।
सामग्री वितरण कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश नेपाली, लेखा प्रमुख कामेश्वर सहनी, शिक्षा संयोजक सुरेन्द्र ठाकुर, अभिभावक, शिक्षक तथा स्थानीय सञ्चारकर्मीको समेत उल्लेखनीय उपस्थिति रहेको थियो ।