प्रदीप दास , रौतहट ।
कार्तिक २९ गते, शनिबार ।
रौतहट जिल्लाको मौलापुर नगरपालिका–७ पिपरियामा निर्माण गरिएको आधुनिक आधारभूत स्वास्थ्य सेवा केन्द्र भवन आज एक विशेष समारोहका बीच सार्वजनिक रूपमा उद्घाटन गरिएको छ। नगरप्रमुख रिना कुमारी साहको विशेष उपस्थितिमा भवनको उद्घाटन पूर्वमन्त्री माननीय प्रभु साहले गर्नुभएको हो। स्थानीय बासिन्दा, जनप्रतिनिधि तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उत्साहपूर्ण सहभागितामा सम्पन्न कार्यक्रम भव्य र ऐतिहासिक बनेको थियो।

पिपरिया आधारभूत स्वास्थ्य सेवा केन्द्र अहिलेको आधुनिक स्वरूपमा पुग्न आर्थिक वर्ष २०७६/०७७ देखि २०८०/०८१ सम्म क्रमिक रूपमा सम्पन्न विभिन्न चरणका विकास निर्माणबाट गुज्रेको छ। नगरपालिकाले स्वास्थ्य पूर्वाधार विस्तारलाई प्राथमिकतामा राख्दै यो केन्द्रलाई सक्षम र प्रभावकारी सेवा केन्द्र बनाउने लक्ष्य अनुसार निरन्तर लगानी गर्दै आएको छ।
विकासका प्रमुख चरणहरू :
२०७६/०७७
– स्वास्थ्य संस्थाका लागि १ कट्ठा १० धुर जग्गा खरिद
– लागत: रु ९ लाख
२०७७/०७८
– भवनको प्लिन्थ लेभलसम्मको निर्माण
– लागत: रु २० लाख
२०७९/०८० – २०८०/०८१
– ठेक्का प्रणालीमार्फत भवन निर्माण कार्य सम्पन्न (अनिल निर्माण सेवा)
– लागत: रु २ करोड २१ लाख
यसरी विभिन्न चरणमा गरिएको जग्गा खरिद, जग्गा विकास तथा भवन निर्माण कार्यसहित कुल लगानी रु २ करोड ५० लाख पुगेको नगरपालिका स्रोतले जनाएको छ।
नव निर्मित भवन आधुनिक मानकअनुसार निर्वाध सेवा प्रदान गर्न सक्षम छ। हाललाई सामान्य चेकजाँच, स्वस्थ्य परामर्श, औषधि वितरण, खोप कार्यक्रम लगायतका आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराइनेछ।
नगरप्रमुख रिना कुमारी साहका अनुसार निकट भविष्यमा प्रसूति सेवा, मातृ–शिशु स्वास्थ्य सेवा, आपतकालीन सेवा लगायतका आवश्यक सबै पूर्वाधार क्रमिक रूपमा थप्दै यो केन्द्रलाई पूर्ण सक्षम स्वास्थ्य सेवा केन्द्रका रूपमा विकास गरिनेछ।
पूर्वमन्त्री प्रभु साहले उद्घाटन समारोहमा बोल्दै प्रदेश र संघको सहयोग ल्याई यसलाई मिनी हस्पिटलको मोडेलमा विस्तार गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो।
स्वास्थ्य सेवाका लागि लामो दूरी हिड्दै अन्य ठाउँ धाउनुपर्ने बाध्यता हट्ने भएपछि स्थानीयवासी अत्यन्तै उत्साहित भएका छन्। पिपरिया तथा आसपासका हजारौँ नागरिकका लागि यो भवनको उद्घाटन स्वास्थ्य पहुँचका हिसाबले ठूलो उपलब्धि मानिएको छ।
मौलापुर नगरपालिकाले दिगो स्वास्थ्य पूर्वाधार निर्माणलाई निरन्तरता दिने र सबै वडामा आवश्यक स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने नीति अघि सारेको जनाएको छ।
यसैक्रममा पिपरिया स्वास्थ्य सेवा केन्द्रको निर्माण सम्पन्न भई सेवा सञ्चालनमा आउनु, नगरपालिकाको प्राथमिकता र जिम्मेवारीप्रतिको गम्भीरताकै प्रमाण भएको स्थानियहरूले प्रतिक्रिया दिएका छन्।

