मालिनी खबर न्युज डेस्क ।
२९ कार्तिक २०८२, रौतहट ।
रौतहटको कटहरिया नगरपालिका–१ मा एक विवाहित महिला गाउँकै वडा सदस्यसँग फरार भएको घटनाले स्थानीयस्तरमा व्यापक चर्चा र विवाद निम्त्याएको छ। तीनवटा छोरा छोडेर अर्कै पुरुषसँग भागेपछि विदेशमा श्रम गर्दै आएका पीडित श्रीमान आँसु झार्दै न्यायको खोजीमा रहेका छन्।
कटहरिया–१ का कृष्णनन्दन दासकी करिब ३० वर्षीया श्रीमती सोसनिता देवी दास गाउँकै वर्तमान वडा सदस्य सतलाल दाससँग फरार भएको परिवारजनले आरोप लगाएका छन्। पाँच वर्षदेखि विदेशमा श्रम गरेर परिवार पाल्दै आएका श्रीमानले पठाएको १२ लाख नगद र करिब ३ लाख बराबरका गरगहना समेत लिएर सोसनिता भागेकी हुन् भन्ने परिवारको दाबी छ।
पीडितकी आमा घुनिया देवी दासका अनुसार, “छोराले त्यहाँ पसिना बगाएर पठाएको पैसा, घरका गरगहना सबै लिएर बुहारी भागिन्। बुहारीकै नाममा रहेको करिब पाँच कठ्ठा जग्गा समेत बैंकमा धितो राखेर पैसा झिकिएको पनि सुनेको छु, केही दिनमै यकिन हुन्छ।”
घटनापछि सोसनिता र वडा सदस्य सतलाल दास बारा–निजगढमा रुम लिएर बसिरहेको खबर पाएपछि घुनिया देवी केही गाउँलेलाई लिएर त्यहाँ पुगेकी थिइन्।
एकै कोठाबाट दुवैलाई भेटेपछि प्रहरी बोलाई उनीहरूलाई इलाका प्रहरी कार्यालय गरुडा हुँदै जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएको उनले बताइन्।
तर त्यहीबाट विवाद अझ चर्किएको घुनिया देवीको गुनासो छ।
उनका अनुसार, कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश जैसवाल घटनास्थलमा उपस्थित भई “सम्पत्तिको आधा हिस्सा बुहारीलाई र बाँकी आधा तीन वटै छोरालाई दिने” सुझाब राखेपछि विवाद झन् चर्कियो। पछि सहमति नजुटेपछि मेयरले उल्टै वडा सदस्य सतलाल दासलाई आफ्नो जमानतमा छोडाइदिएको आरोप परिवारले लगाएको छ।
घुनिया देवी भन्छिन्,
“नगरको प्रमुखले नै विवाहित महिलालाई भगाउने व्यक्तिलाई संरक्षण दिँदा हामी जस्ता गरिबले कहाँ गएर न्याय माग्ने ? तीनवटा सानै छोराको भविष्य कसले हेर्छ ?”
फरार भएकी सोसनिता दासका तीन छोरा – कार्तिक दास, सागर दास र कृताल दास छन्।
त्यस्तै सोसनितासँग भागेको भनिने वडा सदस्य सतलाल दास स्वयंको पनि दुई छोरा र दुई छोरी रहेको बताइन्छ।
यस चर्चित घटनापछि कटहरिया क्षेत्रका स्थानीय आक्रोशित बनेका छन्। जनप्रतिनिधि स्वयं नै यस्ता विवादमा संलग्न भएको बताइँदा नगरको नैतिकता र जिम्मेवारीप्रति प्रश्न उठेको छ।

