प्रदीप सम्राट, रौतहट ।
मंसिर २७ गते, शनिबार ।
सर्लाही । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा नेपाली कांग्रेस सर्लाही क्षेत्र नं. ४ मा उम्मेदवार सिफारिस प्रक्रियालाई लिएर गम्भीर विवाद चुलिएको छ। पार्टीको केन्द्रीय निर्देशनविपरीत हाल वहालवाला मधेश प्रदेशसभा सदस्यको नाम सिफारिस गरिएको भन्दै कांग्रेसभित्र असन्तुष्टि सतहमा आएको हो।
कांग्रेस केन्द्रीय समितिले स्पष्ट रूपमा ‘हाल निर्वाचित प्रदेशसभा सदस्यहरूलाई प्रतिनिधि सभाका लागि सिफारिस नगर्नु’ भन्ने मापदण्ड तय गरेको भए पनि मंगलबार बसेको क्षेत्रीय बैठकले सो निर्णय बेवास्ता गर्दै प्रदेश सांसद वीरेन्द्र प्रसाद सिंहको नाम सिफारिस गरेको स्थानीय नेताहरूले बताएका छन्।
बैठकमा सहभागी धेरै नेता तथा कार्यकर्ताहरूले पार्टीको आधिकारिक निर्णयविपरीत दबाब र बल प्रयोग गरी सिफारिस गराइएको आरोप लगाएका छन्। सो निर्णयप्रति असहमति जनाउँदै कांग्रेस महासमिति सदस्य ई. डा. राजेश्वर सिंह कुशवाहाले सिफारिस प्रक्रिया नै अवैध रहेको कडा प्रतिक्रिया दिएका छन्।
महासमिति सदस्य कुशवाहाले पार्टीभित्रको लोकतान्त्रिक प्रक्रिया र विधि उल्लङ्घन गरिएको दाबी गर्दै भने,
“पार्टीले तोकेको मापदण्ड मिचेर जबरजस्ती प्रदेश सांसदको नाम सिफारिस गरिएको छ। कानूनी र संस्थागत पार्टी प्रणालीमा यस्तो निर्णय टिक्न सक्दैन। अन्ततः यो निर्णय बदर हुनेछ र मापदण्डअनुसार मेरो नाम सिफारिस हुनेमा म विश्वस्त छु।”
उनले विगतको उदाहरण प्रस्तुत गर्दै, महासचिव गगन थापाको नाम सर्लाहीबाट सिफारिस भई अन्ततः अन्य क्षेत्रबाट उम्मेदवार बनेपछि कांग्रेसले क्षेत्र नं. ४ मा पराजय बेहोर्नुपरेको स्मरण गराए। गलत सिफारिसले पार्टीकै हितमा नकारात्मक असर पार्ने उनको भनाइ छ।
आफ्नो राजनीतिक पृष्ठभूमि उल्लेख गर्दै कुशवाहाले २०४७ सालदेखि विद्यार्थी राजनीति हुँदै पार्टी संगठन, जनसम्पर्क समिति र विभिन्न निर्वाचन अभियानमा निरन्तर सक्रिय भूमिका निर्वाह गरेको दाबी गरेका छन्। भारत तथा दक्षिण कोरियामा उच्च शिक्षा, प्राविधिक सेवा र अन्तर्राष्ट्रिय अनुभवसमेत हासिल गरेको उल्लेख गर्दै प्रतिनिधि सभामा प्रभावकारी भूमिका निर्वाह गर्न आफू सक्षम रहेको उनको भनाइ छ।
उनले थप स्पष्ट पारे,
“प्रदेश सांसदको नाम हटाएर पार्टी मापदण्डअनुसार मेरो नाम सिफारिस गरिनुपर्छ। मेरो आवेदन दर्ता नै रोक्दै प्रभावशाली नेताको नाम अघि बढाइनु अन्यायपूर्ण र प्रक्रियाविपरीत हो।”
महासमिति सदस्यको यो अभिव्यक्ति सार्वजनिक भएसँगै सर्लाही क्षेत्र नं. ४ को उम्मेदवार सिफारिस प्रक्रिया थप विवादित बनेको छ। अब कांग्रेस केन्द्रीय कार्यालयले लिने अन्तिम निर्णयले पार्टीभित्र नयाँ राजनीतिक तरंग ल्याउने संकेत देखिएको छ।

