रौतहटमा मन्त्री कुलमान घिसिङद्वारा विकास तथा धार्मिक आयोजनाको स्थलगत अनुगमन

प्रदीप सम्राट, रौतहट ।

मंसिर २७ गते, शनिबार।

नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार, यातायात तथा सहरी विकास मन्त्री एवं ‘उज्यालो अभियान’का नायक कुलमान घिसिङले रौतहट जिल्लामा सञ्चालनमा रहेका विभिन्न विकास तथा धार्मिक आयोजनाहरूको स्थलगत अनुगमन तथा निरीक्षण गरेका छन्।

नेपाल विश्वकर्मा लोहार संघ रौतहटका अध्यक्ष विवेक शर्माको विशेष पहलमा सम्पन्न उक्त कार्यक्रमअन्तर्गत मन्त्री घिसिङले जिल्लाका महत्वपूर्ण परियोजनाहरूको प्रगति, विद्यमान समस्या तथा आगामी आवश्यकताबारे प्रत्यक्ष जानकारी लिएका हुन्।

अनुगमनको क्रममा मन्त्री घिसिङ सर्वप्रथम रौतहटको चर्चित धार्मिक तथा ऐतिहासिक स्थल शिवनगरधामस्थित शिव मन्दिर पुगेका थिए। त्यहाँ उनले विधिवत दर्शन गर्दै मन्दिर क्षेत्रको अवलोकन गरेका थिए। सो अवसरमा स्थानीय भक्तजन, समाजसेवी तथा अगुवाहरूले मन्त्री घिसिङलाई स्वागत गर्दै शिवनगरधामको संरक्षण, सरसफाइ, पूर्वाधार विस्तार तथा पर्यटन प्रवर्द्धनसम्बन्धी मागहरू राखेका थिए।

मन्त्री घिसिङले धार्मिक, सांस्कृतिक र सामाजिक महत्व बोकेका स्थलहरूको संरक्षण तथा विकास सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै शिवनगरधामलाई व्यवस्थित धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताए।

“धार्मिक र ऐतिहासिक स्थलहरूको पूर्वाधार विकासले स्थानीय रोजगारी सिर्जना हुनुका साथै समग्र क्षेत्रको आर्थिक गतिविधि समेत सशक्त बनाउँछ,” मन्त्री घिसिङको भनाइ थियो।

मन्त्री नेतृत्वको टोलीले शिवनगरधामपछि रौतहट जिल्लामा सञ्चालनमा रहेका सडक, पुल, ऊर्जा तथा अन्य भौतिक पूर्वाधारसम्बन्धी विकास योजनाहरूको समेत स्थलगत निरीक्षण गर्ने कार्यक्रम रहेको सम्बन्धित स्रोतले जनाएको छ।

ताजा समाचार

Related Articles