महुली लघुवित्तद्वारा सदस्य लक्षित वित्तीय साक्षरता र च्याउ खेती तालिम सम्पन्न

आशिष थारु, सप्तरी
मंसिर २८, आइतबार

महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय राजविराज, सप्तरीले आफ्ना सदस्यहरूको आर्थिक क्षमता अभिवृद्धि तथा स्वरोजगार प्रवर्द्धन गर्ने उद्देश्यले वित्तीय साक्षरता र च्याउ खेतीसम्बन्धी एकदिने सीपमूलक तालिम सफलतापूर्वक सम्पन्न गरेको छ।

राजविराज नगरपालिका–८ स्थित निर्माण व्यवसायी संघको भवनमा आयोजित तालिममा सहभागीहरूलाई च्याउ उत्पादन प्रक्रियाका विभिन्न पक्षबारे व्यवहारिक र सैद्धान्तिक ज्ञान प्रदान गरिएको थियो। तालिममा च्याउ खेतीका चरणहरू, आवश्यक कच्चा पदार्थ, आधुनिक प्रविधि, रोग तथा कीरा नियन्त्रणका उपाय र उत्पादित च्याउको बजार व्यवस्थापनसम्बन्धी विषयमा विस्तृत जानकारी दिइएको थियो।

यसैगरी, तालिमको अर्को महत्वपूर्ण सत्रमा वित्तीय साक्षरतासम्बन्धी सहजीकरण गरिएको थियो। शाखा प्रबन्धक किशोर कुमार मेहताका अनुसार बचतको महत्व, वित्तीय योजना, ऋणको सही सदुपयोग तथा साना उद्यम सञ्चालनका आधारभूत पक्षबारे सहभागी सदस्यहरूलाई जानकारी दिइएको थियो। “सदस्यहरूलाई आत्मनिर्भर र उद्यमशील बनाउने हाम्रो लक्ष्य हो,” उनले बताए।

च्याउ खेतीसम्बन्धी प्राविधिक प्रशिक्षण प्रशिक्षक अग्निदेव चौधरीले प्रदान गरेका थिए। उनले व्यावहारिक उदाहरणसहित च्याउ खेतीलाई कम लगानीमा आम्दानी गर्ने प्रभावकारी व्यवसायका रूपमा विकास गर्न सकिने धारणा प्रस्तुत गरे।

तालिममा सहभागी सदस्यहरूले कार्यक्रम अत्यन्त उपयोगी रहेको प्रतिक्रिया दिँदै यसले आफूहरूलाई स्वरोजगार र आयआर्जनतर्फ अग्रसर हुन थप प्रेरणा मिलेको बताएका छन्। महुली लघुवित्तले आगामी दिनहरूमा पनि सदस्यहरूको सीप विकास र उद्यमशीलता प्रवर्द्धन गर्ने यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।

ताजा समाचार

Related Articles