प्रदीप सम्राट, रौतहट ।
पुस ०१ गते , मंगलबार ।
रौतहट – जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि रौतहट निर्वाचन क्षेत्र नं. ४ बाट राजकुमार दास तत्मालाई उम्मेदवारका रूपमा एकल सिफारिश गरेको छ। पार्टीको क्षेत्रीय तथा जिल्ला तहका नेतृत्वबीच भएको विस्तृत छलफल र आन्तरिक परामर्शपछि तत्माको नाममा सर्वसम्मत सहमति जुट्दै एकल रूपमा सिफारिश गरिएको हो।
पार्टी स्रोतका अनुसार, राजकुमार दास तत्मा लामो समयदेखि जसपा नेपालको संगठन निर्माणमा सक्रिय रहँदै आएका अनुभवी नेता हुन्। उनी पार्टीको नीति, विचार र कार्यक्रमलाई गाउँ–टोलसम्म पुर्याउन निरन्तर जनसम्पर्कमा जुटिरहेका छन्। राजनीतिक गतिविधिसँगै सामाजिक कार्यमा समेत उनको सक्रियता रहँदै आएको पार्टी नेताहरूको भनाइ छ।
स्थानीय तहमा राम्रो जनाधार, सर्वसाधारणसँगको आत्मीय सम्बन्ध र जनताको दैनिक समस्याप्रति देखाएको संवेदनशीलताका कारण तत्मा क्षेत्र नं. ४ मा लोकप्रिय नेताका रूपमा चिनिँदै आएका छन्। पार्टीप्रतिको निष्ठा, अनुशासन र निरन्तर योगदानलाई मध्यनजर गर्दै उनको नाम एकल रूपमा अघि सारिएको जसपा नेपाल रौतहटले जनाएको छ।
जिल्ला नेताहरूका अनुसार, रौतहट–४ मा पार्टीको संगठनलाई अझ सुदृढ बनाउँदै निर्वाचनमा मजबुत उपस्थिति जनाउन सक्ने क्षमता राजकुमार दास तत्मामा देखिएको छ। यही कारण पार्टीले सक्षम, प्रतिबद्ध र जनतामाझ स्वीकार्य उम्मेदवारको रूपमा उनलाई अघि सारेको हो।
जसपा नेपाल रौतहटले अब क्षेत्रीय तथा जिल्ला तहबाट सिफारिश गरिएको नाम पार्टीको केन्द्रीय समितिमा पठाउने तयारी गरेको छ। केन्द्रीय समितिको बैठकबाट उम्मेदवारको विषयमा अन्तिम निर्णय हुने बताइएको छ।
पार्टी नेताहरूले रौतहट निर्वाचन क्षेत्र नं. ४ मा यसपटक जसपा नेपाललाई निर्णायक शक्तिका रूपमा स्थापित गर्ने लक्ष्यसहित चुनावी तयारी अघि बढाइएको पनि बताएका छन्। राजकुमार दास तत्माको उम्मेदवारीले क्षेत्रका मतदातामा नयाँ उत्साह र भरोसा देखिएको छ।

