प्रदीप सम्राट, रौतहट ।
माघ १० गते , शनिबार ।
रौतहट जिल्लाको वृन्दावन नगरपालिका वडा नं. ९ भूसहामा अवस्थित सनराइज इंग्लिश बोर्डिङ स्कूललाई नगर प्रमुख विनोद प्रसाद कुर्मीले प्रोत्साहनस्वरूप नगद रु. ५१,०००/- आर्थिक सहयोग प्रदान गर्नुभएको छ। स्थानीय बालबालिकाले गुणस्तरीय, व्यवहारिक र प्रतिस्पर्धी शिक्षा प्राप्त गर्न सकून् भन्ने उद्देश्यका साथ उक्त सहयोग प्रदान गरिएको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ।
नगरपालिकाका शिक्षा शाखा प्रमुख उपेन्द्र महतोका अनुसार, शिक्षा क्षेत्रमा लगानी नै दीर्घकालीन विकासको आधार भएकाले विद्यालयलाई प्रोत्साहन गर्ने नीति अनुरूप सहयोग उपलब्ध गराइएको हो। यस आर्थिक सहयोगले विद्यालयको शैक्षिक वातावरण सुदृढ हुने, शैक्षिक सामग्री व्यवस्थापनमा सहयोग पुग्ने तथा विद्यार्थीको सिकाइ क्षमतामा सकारात्मक प्रभाव पर्ने विश्वास लिइएको छ।
शिक्षासँगै सामाजिक उत्तरदायित्वलाई समेत ध्यानमा राख्दै नगर प्रमुख कुर्मीले ज्येष्ठ नागरिक, एकल महिला, दलित तथा विपन्न परिवारहरूलाई प्रति व्यक्ति रु. १,०००/- का दरले नगद सहयोग वितरण गर्नुभएको छ। साथै, हाल बिरामी अवस्थामा रहेका एक परिवारलाई उपचार सहयोग स्वरूप रु. ५,०००/- नगद प्रदान गरिएको जानकारी दिइएको छ। यसले स्थानीय समुदायमा मानवीय संवेदना र आपसी सहयोगको भावना अझ मजबुत बनाएको सहभागीहरूको भनाइ छ।
आर्थिक सहयोग हस्तान्तरण कार्यक्रम विद्यालय परिसरमै सम्पन्न भएको थियो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, शिक्षक–शिक्षिका, विद्यार्थीहरू, स्थानीय बुद्धिजीवी, भद्रभलाद्मी, समाजसेवी, विभिन्न वडाका वडाध्यक्ष तथा सदस्यहरू, जनप्रतिनिधि, युवा नेता धर्मेन्द्र पटेल, साथै विभिन्न सञ्चारमाध्यमका पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्ने वक्ताहरूले नगर प्रमुख कुर्मीको शिक्षा र सामाजिक सेवाप्रतिको प्रतिबद्धताको खुलेर प्रशंसा गर्दै यस्ता पहलले सामुदायिक विद्यालय तथा निजी शैक्षिक संस्थाहरूलाई समेत गुणस्तर अभिवृद्धितर्फ अग्रसर बनाउने बताए। उनीहरूले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाका क्षेत्रमा निरन्तर सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरे।
स्थानीयवासीहरूका अनुसार नगरपालिकाको नेतृत्वबाट भएको यो पहलले वृन्दावन नगरपालिकालाई शिक्षा र सामाजिक न्यायको दृष्टिले उदाहरणीय नगरको रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्नेछ।

