रौतहटको ऐतिहासिक माईस्थान भगवती मन्दिरको पुनः निर्माण सम्पन्न, विधिवत् पूजा गरी देवी पीठको स्थापना

प्रदीप कुमार दास, रौतहट ।

माघ २८ गते,सोमबार ।

रौतहट जिल्लाको सदरमुकाम गौर-१ स्थित ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको माईस्थान भगवती मन्दिर पुनः निर्माण पश्चात् सोमबार विधिवत् रूपमा पूजापाठ गर्दै देवीको पीठलाई पुनःस्थापना गरिएको छ। गौर नगरपालिकाको पहलमा सम्पन्न पुनर्निर्माण कार्यपछि नगरप्रमुख शम्भु साहको विशेष उपस्थितिमा मन्दिरमा धार्मिक विधिपूर्वक पूजा सम्पन्न गरिएको हो।

गौर-१ मा अवस्थित यो मन्दिर क्षेत्रका भक्तजनहरूका लागि एक प्रमुख आस्थाको केन्द्र रहँदै आएको छ। तर, समयको प्रभावले मन्दिर जीर्ण बनेपछि यसको संरक्षण र पुनः निर्माणको आवश्यकता देखिएको थियो। गौर नगरपालिकाले धार्मिक सम्पदाको संरक्षण गर्ने नीति अनुरूप माईस्थान भगवती मन्दिरको पुनर्निर्माणको कार्य अघि बढाएको हो। नगरपालिकाको विशेष पहल तथा स्थानीय श्रद्धालुहरूको सहयोगमा सम्पन्न भएको यो पुनर्निर्माणले गौरबासीका लागि धार्मिक एवं सांस्कृतिक दृष्टिले महत्वपूर्ण योगदान पुर्‍याएको छ।

सोमबार आयोजित विशेष पूजामा नगरप्रमुख शम्भु साहले विधिपूर्वक पूजाअर्चना गर्दै देवीको पीठलाई नयाँ मन्दिरमा प्रतिष्ठापन गरेका थिए। सो अवसरमा नगरप्रमुख साहले मन्दिरको पुनर्निर्माण कार्य पूरा गरी देवीको पीठ पुनःस्थापना गर्न पाउँदा आत्मसन्तोष मिलेको बताउँदै गौर नगरपालिकाले धार्मिक तथा सांस्कृतिक धरोहरहरूको संरक्षणलाई प्राथमिकता दिने उल्लेख गरे। “हाम्रो गौरब तथा पहिचानसँग जोडिएको माईस्थान भगवती मन्दिरको पुनःनिर्माण सम्पन्न गरी देवीको पीठ स्थापना गर्न पाउँदा निकै खुसी लागेको छ। नगरपालिकाको तर्फबाट यसप्रकारका धार्मिक सम्पदाहरूको जगेर्ना गर्ने प्रयास निरन्तर जारी रहनेछ,” नगरप्रमुख साहले भने।

विधिपूर्वक सम्पन्न पूजापाठमा विभिन्न धार्मिक गुरु, स्थानीय जनप्रतिनिधिहरू, समाजसेवी तथा हजारौं भक्तजनहरूको उपस्थिति रहेको थियो। नयाँ स्वरूपमा पुनर्निर्माण भएको भगवती मन्दिरलाई अझ सुन्दर र भव्य बनाउन स्थानीय श्रद्धालुहरूको समेत महत्त्वपूर्ण योगदान रहेको छ।

माईस्थान भगवती मन्दिर गौर नगरको मात्र नभई समग्र रौतहट क्षेत्रकै एक प्रमुख धार्मिक स्थल हो। यहाँ प्रत्येक वर्ष दुर्गा पूजा तथा नवरात्रिको विशेष अवसरमा हजारौं श्रद्धालु भक्तजनहरू पूजाअर्चनाका लागि आउने गर्छन्। मन्दिर पुनर्निर्माण भएपछि भक्तजनहरूको सुविधाका लागि केही थप संरचनाहरू निर्माण गर्ने योजना पनि रहेको नगरपालिकाले जनाएको छ।

पुनर्निर्माण सम्पन्न भएसँगै अब गौरको माईस्थान भगवती मन्दिर झनै भव्य तथा आकर्षक बनेको छ। स्थानीयवासीहरूले मन्दिरको नयाँ स्वरूपप्रति हर्ष व्यक्त गर्दै यसको संरक्षण र संवर्द्धनका लागि निरन्तर प्रयास गरिने बताएका छन्।

ताजा समाचार

Related Articles