प्रदीप सम्राट,रौतहट ।
फाल्गुन ०४ गते,सोमबार ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) रौतहट क्षेत्र नं. ४ को क्षेत्रीय भेला चन्द्रपुरमा अशोका होटलमा भव्य रूपमा सम्पन्न भएको छ। पार्टी संगठनलाई थप मजबुत बनाउने र आसन्न निर्वाचनलाई लक्षित गर्दै आयोजित उक्त भेलामा जिल्लाभरिका नेता, कार्यकर्ता तथा प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रम जिल्ला इन्चार्ज अजयकुमार गुप्ताको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

भेलामा संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार, घरदैलो अभियानको प्रभावकारिता तथा निर्वाचन केन्द्रित रणनीतिका विविध पक्षहरूमा गम्भीर छलफल गरिएको थियो। सहभागी नेताहरूले पार्टीको विचार, नीति र कार्यक्रमलाई आम जनतासम्म प्रभावकारी ढंगले पुर्याउन समन्वित ढंगले अघि बढ्नुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा जिल्ला अध्यक्ष सचितानन्द शाह, गरुडा नगरपालिकाका मेयर कण्थमणि प्रसाद जयसवाल, चन्द्रपुर नगर कमिटीका अध्यक्ष शिव आचार्य लगायतले मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन जिल्ला सचिव बाबुराम दाहालले गरेका थिए।
भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि अजयकुमार गुप्ताले सामाजिक सञ्जालमा देखिने गतिविधि मात्रले चुनावी परिणाम निर्धारण नहुने स्पष्ट पारे। उनले सामाजिक सञ्जालमा लाइक, कमेन्ट र भ्युको आधारमा राजनीतिक मूल्यांकन गर्नु भ्रामक हुने बताउँदै वास्तविक जनमत भूगोलमै देखिने दाबी गरे। चारै क्षेत्रमा पार्टीका उम्मेदवारहरू जनआधारित र सक्षम रहेको उल्लेख गर्दै यसपटक एमालेको जित सुनिश्चित रहेको उनको भनाइ थियो। उनले कार्यकर्तालाई घरदैलोमा पुगेर पार्टीका उपलब्धि, नीति तथा भावी योजना स्पष्ट रूपमा जनतासमक्ष राख्न निर्देशनसमेत दिए।

जिल्ला अध्यक्ष सचितानन्द शाहले संगठनलाई वडा तहसम्म सुदृढ बनाउँदै आन्तरिक एकता कायम राख्नु अहिलेको आवश्यकता भएको बताए। उनले अनुशासित र एकढिक्का रूपमा चुनावी अभियानमा जुट्न आग्रह गर्दै संगठनको मजबुती नै जितको मुख्य आधार हुने धारणा राखे।
मेयर कण्थमणि प्रसाद जयसवालले स्थानीय तहमा सम्पन्न भएका विकास निर्माणका कामहरूलाई जनतामाझ पुर्याउन सकेमा विश्वासको वातावरण अझ सुदृढ हुने बताए। उनले विकास, सुशासन र पारदर्शितालाई प्राथमिकतामा राख्दै जनताको अपेक्षा पूरा गर्ने प्रतिबद्धता दोहोर्याए।
त्यसैगरी, शिव आचार्यले प्रतिगामी शक्तिहरूले एमालेको छवि धूमिल पार्ने प्रयास गरिरहेको आरोप लगाउँदै यस्ता भ्रम र दुष्प्रचारको सशक्त प्रतिवाद गर्नुपर्ने बताए। उनले पार्टीभित्रको एकता, सक्रियता र अनुशासन नै आगामी निर्वाचनमा विजयको आधार बन्ने उल्लेख गरे।

कार्यक्रम सञ्चालनका क्रममा बाबुराम दाहालले निर्वाचन नजिकिँदै गर्दा कार्यकर्ताहरूको सक्रियता थप बढाउनुपर्नेमा जोड दिए। गाउँ–टोल, चौक–चौराहादेखि घरदैलो अभियानसम्म निरन्तरता दिँदै जनसम्पर्कलाई प्रभावकारी बनाउनुपर्ने उनको भनाइ थियो। सबै तहका कार्यकर्ताबीच समन्वय सुदृढ गर्दै अघि बढेमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामजी शाहलाई विजयी बनाउन सहज हुने विश्वास उनले व्यक्त गरे।
भेला सम्पन्न भएपछि नेता तथा कार्यकर्ताहरू चन्द्रपुर चौक र आसपासका बजार क्षेत्रमा पुगेर मतदातासँग प्रत्यक्ष संवादमा जुटेका थिए। उनीहरूले सर्वसाधारण, व्यवसायी तथा स्थानीय बासिन्दासँग भेटघाट गर्दै पार्टीका उम्मेदवारको पक्षमा मतदान गर्न आग्रह गरेका थिए। साथै आगामी दिनमा गाउँ–टोल केन्द्रित अभियानलाई अझ तीव्र बनाउँदै व्यापक जनसम्पर्क विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

