रौतहटमा नेपाल संघीय समाजवादी पार्टीको क्षेत्रीय भेला सम्पन्न

प्रदीप दास, रौतहट ।

फाल्गुन ०५ गते, सोमबार ।

रौतहट जिल्लाको कनकपुरमा नेपाल संघीय समाजवादी पार्टीको क्षेत्र नम्बर – ३ को क्षेत्रीय भेला पार्टी अध्यक्ष रिजवान अन्सारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। उक्त भेलामा पूर्व गृह, कानुन तथा सञ्चार मन्त्री एवं प्रदेश सभा सदस्य माननीय विमला अन्सारीको विशेष उपस्थिति रहेको थियो। साथै, पार्टीका केन्द्रीय सदस्य मैनुद्दिन , शेख नजिबुल्ला, क्षेत्रीय संयोजक कलिमुल्ला लगायत नेताहरूको सहभागिता रहेको थियो। भेला क्षेत्रीय संयोजक कलिमुल्लाको अध्यक्षतामा सम्पन्न भएको थियो।

भेलालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष रिजवान अन्सारीले पछिल्लो ५० वर्षदेखि नेपाली जनताले नेपाली कांग्रेस र एमालेको शासन भोग्दै आएको तर यस अवधिमा मुलुक बेरोजगारी, भ्रष्टाचार, असमानता, अन्याय र अत्याचारबाट मुक्त हुन नसकेको बताउनुभयो। नेपाली जनताले दिगो शान्ति, समानता, सामाजिक न्याय र स्वाधीन नेपालको सपना देखे पनि पुराना सत्ताधारी दलहरूले ती सपनाहरूलाई साकार गर्न नसकेको उहाँको भनाइ थियो।

उहाँले विशेष रूपमा उत्पीडित वर्गहरूको नाममा खुलेका राजनीतिक दलहरूले समेत मधेसी र अन्य उत्पीडित समुदायका जनतालाई पटक–पटक धोका दिएको उल्लेख गर्नुभयो। यस परिस्थितिमा अब जनताको चाहना अनुसारको संविधान निर्माण, सुशासन, समृद्धि, सामाजिक न्याय, स्वाधीनता र आत्मनिर्भर नेपालको निर्माणका लागि नयाँ राजनीतिक शक्ति आवश्यक रहेको उहाँले बताउनुभयो।

“पुरानै मानसिकताले नयाँ नेपालको निर्माण सम्भव छैन। अब देशका हरेक जिल्ला, नगर, गाउँ, वडामा संघीय समाजवादी पार्टीको संगठन विस्तार गर्नु आवश्यक छ। पुराना दलहरूलाई पटक–पटक सत्तामा पुर्याएर हामीले भोगिसकेका छौँ, अब समय नयाँ पार्टी, नयाँ नेता र नयाँ मोर्चाको हो,” अन्सारीले जोड दिनुभयो। साथै, पार्टीको संगठन विस्तार, जनजागरण अभियान, सदस्यता वितरण, प्रशिक्षण तथा जनतालाई गोलबद्ध गरी संगठित बनाउने अभियानलाई तीव्रता दिनसमेत उहाँले निर्देशन दिनुभयो।

भेलामा मन्तव्य राख्दै पूर्व गृह, कानुन तथा सञ्चार मन्त्री विमला अन्सारीले मधेस प्रदेश सरकार मधेसी जनताको चाहना र आवश्यकताअनुसार काम गर्न असफल भएको आरोप लगाउनुभयो। उहाँले मधेस सरकारको असक्षमताका कारण संघीयता नै बदनाम हुन थालेको बताउनुभयो।

“मधेस सरकार खासगरी मुस्लिम, थारु र दलित समुदायलाई बेवास्ता गर्दै आएको छ। मुस्लिम समुदायका लागि मदरसा विधेयक पारित गर्ने, उर्दु विश्वविद्यालय स्थापना गर्ने तथा उर्दु र थारु भाषालाई भाषा विधेयकमा समेट्ने विषयमा सरकारको दृष्टिकोण अस्पष्ट देखिएको छ। यसले मधेस सरकार मुस्लिम, थारु र दलित विरोधी भएको संकेत गर्छ,” अन्सारीले बताउनुभयो।

भेलाले कलिमुल्लाको संयोजकत्वमा १९ सदस्यीय क्षेत्रीय कमिटी गठन गरेको छ। भेलामा उल्लेख्य संख्यामा कार्यकर्ताहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

नेपाल संघीय समाजवादी पार्टीले आगामी दिनमा संगठन विस्तार, जनजागरण अभियान र जनताको हकहितका लागि संघर्षलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

ताजा समाचार

Related Articles