रौतहटमा चौथो चन्द्रपुर महोत्सव २०८१ को भव्य उद्घाटन, १३ दिनसम्म विविध कार्यक्रम सञ्चालन हुने 

रानी साह, रौतहट ।

फाल्गुन ०५ गते , सोमबार ।

रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकामा आयोजना गरिएको चौथो चन्द्रपुर महोत्सव २०८१ को भव्य उद्घाटन समारोह आज सम्पन्न भएको छ। महोत्सवको औपचारिक उद्घाटन मधेस प्रदेश सरकारका पूर्व उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री माननीय युवराज भट्टराई ‘समीर’ को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

चन्द्रपुर उद्योग वाणिज्य संघको आयोजनामा फाल्गुन ५ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने उक्त महोत्सवलाई प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिहरू, विभिन्न राजनीतिक दलका नेताहरू, व्यापारी, उद्योगपति, स्थानीय समाजसेवी, युवा तथा नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको छ।

१३ दिनसम्म सञ्चालन हुने चन्द्रपुर महोत्सव अन्तर्गत व्यापारिक प्रदर्शनी, कृषि तथा पशुपालन प्रवर्द्धन कार्यक्रम, स्थानीय उत्पादन तथा हस्तकलाको प्रवर्द्धन, आधुनिक प्रविधि प्रदर्शनी, बाल उद्यान, खानाका परिकारहरू, मनोरञ्जनात्मक खेलकुद प्रतियोगिता, स्वास्थ्य शिविर, साहित्यिक कार्यक्रम लगायतका विभिन्न आकर्षक गतिविधिहरू समावेश गरिएका छन्।

सांस्कृतिक कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको बेजोड प्रस्तुति रहनेछ। लोकदोहोरी, आधुनिक नृत्य, मधेसी लोकसंस्कृति झल्कने नृत्य, हाँस्यव्यंग्य प्रस्तुति तथा नाटकहरू समेत प्रस्तुत गरिनेछ। महोत्सवमा बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मका लागि विशेष कार्यक्रमहरू तय गरिएका छन्।

महोत्सवले स्थानीय उद्योग तथा व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्य राखेको आयोजक चन्द्रपुर उद्योग वाणिज्य संघले जनाएको छ। व्यापारिक स्टलहरू मार्फत स्थानीय उद्यमी, कृषि उत्पादक तथा व्यवसायीहरूले आफ्ना उत्पादन तथा सेवाहरू प्रदर्शनीमा राख्न पाउने छन्। साथै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापारिक प्रतिनिधिहरूको उपस्थिति रहने भएकाले व्यावसायिक अवसरहरू सिर्जना हुने विश्वास लिइएको छ।

महोत्सवले चन्द्रपुर क्षेत्रलाई पर्यटन प्रवर्द्धनमा समेत मद्दत गर्ने अपेक्षा गरिएको छ। चन्द्रपुर नगरपालिकाले यस क्षेत्रको ऐतिहासिक तथा सांस्कृतिक सम्पदाहरूको प्रचारप्रसार गर्दै पर्यटकहरूको आकर्षण बढाउने योजनासहित महोत्सवलाई विशेष प्राथमिकता दिएको छ।

महोत्सव उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि माननीय युवराज भट्टराई ‘समीर’ ले महोत्सव जस्ता कार्यक्रमहरूले व्यापार प्रवर्द्धन मात्र नभई सांस्कृतिक पहिचानको संरक्षण, पर्यटन विकास तथा स्थानीय उद्योगहरूको प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले स्थानीय उत्पादन तथा व्यापारिक गतिवधि विस्तारका लागि प्रदेश सरकारले विशेष नीति तथा कार्यक्रम ल्याउनुपर्ने आवश्यकता औंल्याउनुभयो।

कार्यक्रममा उपस्थित अन्य अतिथिहरूले चन्द्रपुर महोत्सवलाई थप प्रभावकारी बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको उल्लेख गर्दै स्थानीय समुदायलाई यसमा सक्रिय सहभागिता जनाउन आग्रह गरेका थिए।

चन्द्रपुर महोत्सवको शुभारम्भसँगै स्थानीयबासी तथा आगन्तुकहरूमा उत्साह थपिएको छ। महोत्सवले स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने तथा क्षेत्रीय व्यापार प्रवर्द्धन गर्ने विश्वास गरिएको छ।

आयोजक चन्द्रपुर उद्योग वाणिज्य संघले महोत्सवलाई भव्य र व्यवस्थित बनाउन सबै तयारी पूरा भइसकेको जनाएको छ। फाल्गुन १७ गतेसम्म चल्ने महोत्सवलाई सुरक्षा तथा व्यवस्थापनको विशेष ध्यान दिइएको छ भने व्यापारी तथा दर्शकहरूको सुविधाका लागि आवश्यक पूर्वाधारहरू तयार पारिएको छ।

ताजा समाचार

Related Articles